राजेन्द्र महतो भन्छन्–मधेसीको शत्रु मधेसी
स्वार्थले एउटा पार्टी १३ वटा पार्टी भयो
राजविराज : सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसीको शत्रु मधेसी नै रहेको बताएका छन् । राजविराजमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले सो कुरा पटकपटक दोहोर्या‍ए ।


‘स्वार्थका कारण एउटाबाट १३ वटा पार्टी बन्छ, मोर्चामा सँगै गएपनि पछि धोखा दिन्छ’, मधेसीका लागि गजेन्द्र नारायण सिंहले खोलेको एउटा पार्टी हुँदाहुँदै मधेसका नाममा फोरम, तमलोपा हुँदै १३ वटा पार्टी खुलेको सन्दर्भ जोड्दै महतोले भने, ‘आन्दोलनको विपक्षमा रहन्छ, त्यसैले मधेसीको शत्रु नै मधेसी ।’

पत्रकारहरुले एउटै मोर्चा बनाएर संयुक्त आन्दोलन गर्न दिएको सुझावमा उनले यसो भनेका हुन् । उनले मधेस आन्दोलनका लागि एउटै मोर्चा बन्न आवश्यक छैन भने । एउटा मोर्चा बनाउनु वा प्रश्न उठाउनुको अर्थ नरहेको उनले बताए ।

‘स्वार्थका लागि मन्त्री बन्न पार्टी विखण्डन गर्नेहरुलाई जम्मा गरेर केही हुँदैन’, उनले भने, ‘सही गलतको पहिचान गर्नुपर्छ ।’ अलग अलग मोर्चा भएपनि इमान्दारीपूर्वक आन्दोलन गरे पुग्ने महतोले बताए ।

पत्रकारहरुको एउटै मोर्चा बनाउन दिएको सुझावमा महतोले आन्दोलन निर्णायक मोडमा भएका बेला यस्ता बखेडा झिक्न नहुने र पत्रकारहरु धेरै क्रान्तिकारी बन्न जरुरी नरहेको पनि बताए ।

छठपछि भएको आन्दोलनमा घुसपैठ भएको र सरकारले नै आन्दोलनलाई बदनाम गर्न एम्बुलेन्स र औषधी बोकेको सवारी साधन तोडफोड र आगजनी गरेको महतोले बताए ।

एम्बुलेन्सलगायतका आकस्मिक सेवा सञ्चालन हुनुपर्ने भन्दै उनले ठाउँठाउँमा एम्बुलेन्स रोकिएकाले बालकको मृत्यु भएको समाचार आएपनि पेटोल तस्करी भइरहेको समाचार नआएको बताए ।

सुनसरीको हरीपुरमा भारतिय प्रहरीले चार नेपालीमाथि गोली प्रहार गरेको घटनाको यथार्थ जानकारी माग्दै पत्रकारले गरेको प्रश्नमा महतोले घटनाबारे नबताई सरकारी स्तरबाट छानबिन र कुटनीतिक तरिकाले समस्या समाधान गर्नुपर्ने भन्दै राजनीतिक जवाफ दिए ।

केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिनका लागि संसदमा भएको मतदानमा सहभागी भएको बताउँदै उनले संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय नमान्दा मोर्चा फुटने भयले भाग लिनुपरेको वाध्यता सुनाए ।

उनले मधेस थरुहट प्रदेशको मागमा पुनर्लेखन वा संशोधन नभएसम्म आन्दोलन नरोकिने दृढता व्यक्त गरे । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको र सरकारले मधेशमा साम्प्रदायिकता फैलाउन सुरु गरेको आरोप पनि लगाए ।

प्रहरीे दमनलाई राज्य आतंकको संज्ञा दिँदै उनले यो मुद्दा अन्तराष्ट्रियकरण गर्न न्यायिक छानवीन गरी दोषीमाथि कारबाहीको माग गरे ।

कुर्सी टिकाउन वर्तमान सरकार खोक्रो राष्ट्रवाद देखाएर देशमा गृहयुद्ध मच्चाउन लागेको भन्दै अध्यक्ष महतोले मोर्चाको नाकाबन्दीलाई भारतको नाकाबन्दी भनेर आन्दोलनलाई दवाउन खोजेको आरोप लगाए ।

सरकारले भारतको बदनाम गर्न नाकाबन्दीको झुठो प्रचार गरेकोले कुटनीतिक सम्बन्ध पनि विगारेको बताए ।

महतोले मोर्चाको आह्वानमा जनताले आन्दोलन गरिरहेकाले मधेसको जनआन्दोलन भएको बताए । संविधानमा मधेसीको हकअधिकारका लागि आन्दोलन भइरहेकाले आन्दोलनलाई आरपारको बनाउन हजार दुई हजार मात्रै हैन सबै मधेशी जनतालाई सडकमा आउन उनले आग्रह गरे ।

संविधानमा हस्ताक्षर गर्ने सांसदहरुलाई सामाजिक बहिष्कार गरेर मधेश आन्दोलनलाई उचाईमा पुर्या‍उन उनले आह्वान गरे । सो अवसरमा पार्टीका उपाध्यक्ष नवलकिशोर साहसहित पार्टीका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसअघि बुधबार अध्यक्ष महतोले प्रहरीसँगको झडपका क्रममा मृत्यु भएका परिवारसँग भेटेका थिए भने बिहीबार विहान घाइते तथा अस्पताल, स्वास्थ्य संस्था ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सक, स्वास्थ्कर्मीहरुलाई भेटेका थिए । साँझमा मधेसी मोर्चा सप्तरीको वैठकमा सहभागी हुँदै उनले आन्दोलनलाई सशक्त बनाउन निर्देशन दिए ।
annapurnapost
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses