• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । काभ्रेको धुलिखेल बाँसघारीमा सोमबारराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सोमबारराति करिब १ बजे बा ३५ प ४४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने द्वारिका होटल धुलिखेलको सर्भिस डिपार्टमा कार्यरत पाँचखाल–१ खावाका ४२ वर्षीय दीपकराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको उपचारका क्रममा बिहान करिब २ः३० बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल नालीमा खसेको र मोटरसाइकल चालक भक्तपुर–१० बस्ने २५ वर्षीय साजन लबु सामान्य घाइते भएका छन ।
www.nepalsandesh.com
काठमाण्डु, १९ जेठ– त्यो शुक्रबार म दिनभर अफिसको काममै थिएँ । सबै काम सकेर साँझ ६ बजे बाहिर निस्कने बेला सरकारको एडिसी अफिसमा फोन गरेँ ।
एडिसी सुन्दरप्रताप रानासँग कुरा भयो । ‘आज अरु केही काम छ कि ?’ भनेर सोधेँ । जेठ २४ गते हुन लागेको सरकारको रारा सवारीको तयारीबारे हामीबिच केही बेर कुरा भयो । मैले ‘अघि सरकारबाट रारा भ्रमणको तयारी र व्यवस्थापनबारे हुकुम भएको छ, त्यो सवारी वाहेक अरु केही कुरा छ ?’ भनेर मैले सोधेँ । सुन्दर कर्साबले ‘आज खासै अरु केही छैन, सरकारको दर्शनभेट छ, संवाद सचिवले दर्शनभेट गराउँदै हुनुहुन्छ’ भन्नुभयो ।
शुक्रबार साँझ संवाद सचिव मोहनबहादुर पाण्डेले स्पटलाइट म्यागजिनका सम्पादक माधवकुमार रिमाललाई वीरेन्द्र सरकारसँग दर्शनभेटको समय मिलाउनुभएको थियो । अपराह्न चियाका लागि डिल्लीबजारस्थित बडागुरूज्यू नयनराज पाण्डेको घर सवारी भएर सरकारहरु करिब ४५ मिनेट राज भएको थियो । त्यहाँ युवराजाधिराजको पनि सवारी भएको थियो । मैले पछि सुने अनुसार युवराजाधिराज त्यहाँ एक शब्द पनि बोलिबक्सेन । साँझ संवाद सचिवालयका तर्फबाट दर्शनभेट मिलाइएको हुनाले संवाद सचिव मात्र बस्ने, अरु सबै सचिवहरु जाने भन्ने उर्दी थियो ।
६ बजे अफिसको सबै काम सकेर म बाहिर निस्केँ । शाही रक्षक वाहिनीमा हाम्रो ‘ड्रेस चेन्ज’ रूम थियो । त्यहीँ गएर ड्रेस चेन्ज गरेँ । त्यही बेला मैले साथी डा. दुमन थापालाई फोन गरेँ । हामी दुवैलाई एक जना साथीले खाना खान बोलाएको थियो, नयाँबजारमा । डा. दुमन र म भेटियौँ ।
ठमेलमा अर्को साथी गणेश पाण्डेलाई लिएर नयाँबजारस्थित साथीको घर गयौँ । हामी त्यहाँ पुग्दा करिब साढे ७ बजेको थियो । हामी ड्रिङ्क्स गरिरहेका थियौँ । त्यस्तै ९ बजेर १५÷१६ मिनेट गएको थियो, मेरो मोबाइल बज्यो ।
घरबाट गीता (श्रीमती ले फोन गरेकी रहिछन् । निकै आत्तिएको स्वरमा उनले सोधिन्, ‘तिमी कहाँ हो ? महेन्द्र मन्जिल एडिसी अफिसबाट फोन आएको थियो ।’ मलाई अचम्म लाग्यो । महेन्द्र मन्जिल एिडसी अफिसबाट मलाई किन फोन आयो ? मलाई त श्री सदन एडिसी अफिसले खोज्नुपर्ने हो । महेन्द्र मन्जिल मुमा बडामहारानी रत्नको निवास हो भने श्री सदन महाराजाधिराजको । मैले तुरून्तै महेन्द्र मन्जिल एडिसी अफिसमा फोन गरेँ । ‘त्यहाँबाट मलाई फोन गरेको हो ?’ भनेर सोधेँ ।
‘होइन’ भन्ने जवाफ आयो । ड्युटीमा एक जना लप्टन थिए । उनले ‘उता त्रिभुवन सदनतिर फायरिङको आवाज आएको थियो, त्यताबाट फोन आएको हो कि ?’ भने । यो कुरा करिब ९ बजेर २० मिनेटतिरको हो । फायरिङको आवाज भन्ने कुराले मेरो मनमा एकै पटक अनेकौं तरङ्गहरु जन्मायो ।
मैले तुरून्तै अन्नपूर्ण एडिसी अफिसमा फोन गरेँ । त्यहाँ फोन उठेन । त्यसपछि मलाई ‘समथिङ इज रङ’ भन्ने लाग्यो । तुरून्तै म ‘राजदरबार जान्छु’ भनेर निस्किएँ । दुमन, गणेशजी र म बाटोमा आइरहेका थियौं, एकदमै हताश र आत्तिएको स्वरमा शाही रक्षक सैनिक प्रहरीका प्रमुख महासेनानी केशव महतको फोन आयो, ‘सर, भयङ्कर समस्या आइपर्‍यो, तपाईं तुरून्तै सैनिक अस्पताल आउनुपर्‍यो ।’
त्यति बेला हामी सोह«खुट्टे आइसकेका थियौँ । त्यहीँबाट हामी तुरून्तै गाडी मोडेर वीरेन्द्र सैनिक अस्पतालतिर लाग्यौँ । त्यसलगत्तै समारोह प्रबन्धक कार्यालयका प्रमुख चिरनशमशेर थापाको फोन आयो । उहाँको स्वर पनि निकै आत्तिएको र हताश थियो ।
‘जर्साब, मलाई सैनिक प्रहरीबाट आत्तिएको स्वरमा फोन आयो । दरबारमा के भयो ? मैले केही बुझ्न सकिनँ । सायद तपाईंलाई आउनुपर्ने फोन मलाई पो आएको हो कि ?’ भन्नुभयो । मैले ‘सर, मलाई तुरून्तै वीरेन्द्र अस्पताल आउनू भन्ने खबर आएको छ’ भनेर फोन राखिदिएँ ।
९ बजेर ३५/३६ मिनेटजति भएको थियो म सैनिक अस्पताल पुग्दा । अलिअलि भीड जम्मा भइसकेको रहेछ । प्रधान सेनापति प्रज्वल्लशमशेर जबरा पनि आइसक्नुभएको रहेछ । त्यस बेलासम्म मलाई के भएको हो भन्नेबारे केही थाहा थिएन । तर सबै जना मलाई नै ‘के भो ?’ भनेर सोध्दै थिए । महासेनानी सुन्दरप्रताप राना त्यति बेला ड्युटीमा प्रमुख एडिसी हुनुहुन्थ्यो । म भित्र पस्दै थिएँ, उहाँसँग जम्काभेट भयो ।
त्यहीँ टीका धमला जर्साबसँग पनि भेट भयो । उहाँहरु दुवैले ‘सर, खत्तम भयो, खत्तम भयो’ मात्र भन्नुभयो । टीका जर्साबले नै मलाई लिएर जानुभयो ट्रमा सेन्टरमा । त्यहाँ कल्पनै नगरेको कारूणिक दृश्य देख्नुपर्‍यो । सहनै नसकिने, मुटु थाम्नै नसकिने दृश्य ।
जता हेर्‍यो, उतै क्षत–विक्षत र रक्ताम्मे शरीरहरु मात्र ढलेका थिए । वीरेन्द्र सरकार, बडामहारानीको क्षत–विक्षत शरीर । सपना जस्तो लागिरहेको थियो । वीरेन्द्र सरकारलाई बचाउन सकिन्छ कि भनेर धेरै नै कोसिस भइरहेको थियो । तर मौसुफमा कहीँकतै होस थिएन । मैले पनि मौसुफको नाडी छामेँ । शरीरमा अलिअलि मात्र तातो बाँकी थियो ।
सायद सरकार महाप्रस्थानमा लागिसकिबक्सेको थियो । यसअघि नै बडामहारानीको स्वर्गे भइसकेको रहेछ । सबै डाक्टर हताशामै थिए । छेउमै मुमा बडामहारानी सरकार होइबक्सँदो रहेछ । सरकार स्तब्ध होइबक्सन्थ्यो । मैले अभिवादन गरेँ । त्यसपछि मैले सुन्दर कर्साबसँग कुरा गरेँ । उहाँले घटनाको बेलीविस्तार लगाउनुभयो, ‘वीरेन्द्र सरकार दर्शनभेटको कार्यक्रम सकेर आप्mनो कार्यालयबाट त्रिभुवन सदन सवारी होइबक्स्यो ।
सरकार रात्रिभोजका लागि त्रिभुवन सदनभित्र सवारी होइबक्सेपछि हामी एडीसी रूममा थियौँ । भित्र पार्टी भइरहेको थियो । सरकारहरु सबै सवारी होइबक्सेको थियो । राजपरिवारका सदस्यको मात्र जमघट भएकाले सदाझैं हामीले त्यति धेरै चनाखो हुनुपर्ने अवस्था थिएन । त्यसैले हामीले त्यति धेरै चासो दिएनौं । शान्त थियो
वातावरण । कहीँकतै पनि यस्तो होला भन्ने कल्पनै गरिएन । अचानक सुटिङको आवाज सुनिन थाल्यो ।
युवराजाधिराजबाट सुट भएछ । हामी ढोका फोरेर भित्र छिर्‍यौं । भित्र राजदरबार हत्याका छिर्दा त सबै जना भुइँमा ढलेको दृश्य मात्र देखियो । वीरेन्द्र सरकार पनि रक्ताम्मे अवस्थामा भुइँमा ढलिबक्सेको थियो । तत्काल हामीले स्थितिलाई नियन्त्रण गर्ने कोशिस त गर्‍यौं, तर नहुनु भइसकेको थियो । गोली लागेका सबैलाई कहाँ लैजाने लैजाने भयो ।
हामीले सैनिक अस्पतालमै उपयुक्त हुन्छ भनेर यहाँ ल्यायौँ । त्यस्तो बेला कोही–कसैसँग सल्लाह गर्ने कुरा पनि भएन । त्यो अवस्थामा तत्काल जे मनमा आयो, हतार–हतारमा हामीले त्यही गर्‍यौं । जर्साब, अब के गर्ने ?’ मैले सबैभन्दा पहिले पाएको जानकारी यही थियो । कस्तो पङ्खयाउनै गार्हो ! घटनास्थलमा रहेका सुन्दर कर्साबसहित अन्य एडिसी र प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार वीरेन्द्र सरकार रात्रिभोजमा सवारी हुनासाथ युवराजाधिराज रक्सी लागेको बहाना पार्दै भुइँमा ढलिबक्सेछ । त्यहाँ उपस्थित सबैलाई युवराजाधिराज नशाले ढलेको भान भयो ।
युवराजाधिराज ढलेपछि सरकारलाई अधिराजकुमार निराजन, शाहज्यादा पारस, कुमार गोरख र डा. राजीव शाहीद्वारा त्रिभुवन सदनभित्रकै खोपीमा लगिएछ । त्यही बेला दीपेन्द्र सरकारको कम्मरमा रहेको पेस्तोल झिक्न खोजियो । नशाले अचेत भए पनि युवराजाधिराजले उक्त पेस्तोल झिक्न दिइबक्सेनछ । युवराजाधिराजलाई खोपीमा सुताएर चारै जना पार्टी स्थल फर्कनुभयो । खोपीमा युवराजाधिराजसँग भएका हतियार सधैं क्याबिनेटमा हुन्थे ।
तर त्यो दिन बाहिरै थिए रे । महाराजाधिराज पार्टी स्थलमा सवारी भएपछि पार्टी चलिरह्यो । पार्टी स्थलमा सवारी होइबक्सेर सबैभन्दा पहिले वीरेन्द्र सरकारले मुमा बडामहारानीसँग कुरा गरिबक्सेको रहेछ ।
त्यसपछि सरकार बिलियार्ड रूममा सवारी होइबक्सेछ । शाही रनर र नानी (द्वारे जमुना का अनुसार अधिराजकुमार नीराजनसहित शाही नातेदारहरु खोपीबाट फर्केपछि दीपेन्द्र सरकारले कम्ब्याट ड्रेस लगाइबक्सेछ ।
र्‍याम्बो र टर्मिनेटर सिनेमाका नायकले बोकेको जस्तो गरी युवराजाधिराज दीपेन्द्रले चार वटा बन्दुक (एमपी–५ सब मेसिनगन, एम–१६ एटु कमान्डो राइफल, अटोमेटिक १२ बोर गन र पेस्तोल भिरिबक्सेछ । यसपछि पार्टी भइरहेको बिलियार्ड बैठकमा सवारी भएर सर्वप्रथम एक राउन्ड सिलिङमा फायर गरेर सबैको ध्यान आकर्षण गरिबक्सेछ ।
त्यसपछि बिलियार्ड टेबलअगाडि राज होइबक्सेका आफ्ना बुबा महाराजाधिराजलाई पहिलो राउन्ड गोली हानिबक्सेछ । गोली लागेर भुइँमा ढलेपछि वीरेन्द्र सरकारबाट आफ्नो साथमा रहेको पेस्तोल झिक्न खोजिबक्सेको रहेछ ।
यसै क्रममा धीरेन्द्र शाहले दीपेन्द्रको बन्दुक खोस्न खोज्दा दीपेन्द्र सरकारबाट वीरेन्द्र सरकारलाई पुनः र अन्य सहभागीलाई पनि एमपी–५ सब मेसिनगनबाट अटोमेटिक फायर गरेर निसाना साधिबक्सेछ । यसपछि त्यहाँ कोलाहलको अवस्था सिर्जना भएछ । त्यहाँ जोजो उठे, सबै युवराजाधिराजको बन्दुकको गोलीको निसाना बनेछन् । त्यहाँबाट युवराजाधिराज बगैंचातिर सवारी भएछ ।
रात्रिभोजमा सहभागी प्रत्यक्षदर्शीका अनुसार त्यसै अवस्थामा गाली गर्दै बडामहारानीबाट युवराजाधिराजलाई पछ्याइबक्सेको रहेछ । त्यति बेला युवराजाधिराजले बडामहारानीलाई अगाडि नबढ्न चेतावनी समेत दिइबक्सेको रहेछ ।
तर बडामहारानीले पूरै आक्रोशमा आएर युवराजाधिराजको हतियार खोसेर दीपेन्द्र सरकारलाई नै गोली हान्न खोजिबक्सेको रहेछ । सुत्ने कोठा (खोपी सम्म पुग्न लाग्दा पनि बडामहारानीले पछ्याइरहेपछि युवराजाधिराजले आफ्नो खोपीबाहिर रहेको भर्‍याङको शिरबाट, बडामहारानी भर्‍याङमा उक्लदै गर्दा एमपी–५ सब मेसिनगनबाट अटोमेटिक ब्रस्ट फायर गरिबक्सेछ ।
आधा टाउको गोलीले उडाएपछि बडामहारानी भर्‍याङबाट भुइँमा लडिबक्सेछ । यही समय निराजन सरकार बडामहारानीलाई पछ्याउँदै बङ्गलानजिक पुगिबक्सेको रहेछ । त्यही बेला युवराजाधिराजको आखिरी निसानामा निराजन सरकार समेत परिबक्सेछ ।


यस बेलासम्म दीपेन्द्र सरकारको हातमा रहेको एमपी–५ सब मेसिनगनको म्यागजिनमा गोली सकिएको थियो । साथै एम–१६ एटु कमान्डो राइफलको पनि म्यागजिनमा गोली समाप्त भएको थियो । त्यसपछि युवराजाधिराजमा ‘सिक्थ सेन्स’ आएको हुनुपर्छ ।
साधारणतया यस किसिमका हत्याराहरु अरु सबै सकिएपछि अन्त्यमा आफैले आफैँलाई सुट गर्ने मनोवैज्ञानिक स्थितिमा पुगेका हुन्छन् । अब सबै समाप्त भयो, मेरो पनि बाँच्ने केही आधार छैन भन्ने विचार गरेर होला, युवराजाधिराजले आफ्नो बायाँतर्फ वेप बेल्टमा रहेको पेस्तोल निकाली बायाँ हातले
बाया“ कन्चटमा एक गोली हिर्काएर आफू त्यसैबाट ढलेको देखिन्छ ।
मौसुफको दाहिने हातमा एमपी–५ बन्दुक थियो, गोली सकिएको अवस्थामा । उद्धारका क्रममा दीपेन्द्र सरकारको बायाँ हातमा रहेको पेस्तोल छेउकै पोखरीमा खसेको थियो ।
अन्य हतियारहरु सुरक्षाकर्मीले सरकारको शरीरबाट निकालेर यत्रतत्र फालिएको अवस्थामा थिए । यस्तो अवस्था भएपछि ड्युटीमा रहेका एडीसी र अन्य सुरक्षाकर्मी मिलेर सबै घाइतेहरुलाई उठाउँदै वीरेन्द्र सैनिक अस्पताल लगेका रहेछन् । त्यस क्रममा सबैभन्दा अन्त्यमा बडामहारानीलाई फेला पारिएको रहेछ ।
युवराजाधिराज दीपेन्द्र, अधिराजकुमारी कोमल र धीरेन्द्र शाहलाई अपरेसन थिएटरमा राखिएको थियो । त्यो सबै दृश्य देखेपछि अब के गर्ने होला भनेर मेरो मनमा अनेक कुरा आउन थाले । मैले सोचेँ, अब आत्तिएर हुन्न । त्यसपछि डाक्टरहरुसँग कुरा गरेँ । बाहिरबाट डाक्टर झिकाउन पहल भइरहेको थियो । मैले पनि चाँडो गर्न सुझाव दिएँ । डा. गोविन्द शर्मा, डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइरालालाई बोलाउने कोशिस भइरहेको रहेछ ।
कोही आइसक्नुभएको थियो । डा. राजीव शाहीले विभिन्न डाक्टरलाई सैनिक अस्पतालमा आउन अनुरोध गरिरहनुभएको थियो । उहाँ पनि घटनाको प्रत्यक्षदर्शी हुनुहुन्थ्यो । मैले बाहिर आएर प्रधान सेनापतिसँग कुरा गरेँ, ‘अब के गर्ने’ भनेर । हामी दुईले सल्लाह गर्‍यौं, सेनालाई स्ट्यान्डबाई ड्युटीमा राख्ने । सशस्त्र प्रहरी र प्रहरीलाई समेत आ–आफ्नो ड्युटीमा स्ट्यान्डबाई राख्ने कुरा तय भयो ।
शाही जङ्गी अड्डास्थित सैनिक अपरेसन (डीएमओ खोल्नुपर्छ भन्ने सल्लाह भयो । त्यस अनुसार चिफसाबले त्यहीँबाट डीएमओ सहायक रथी प्रदीपप्रताप बम मल्ल र युद्धकार्य महाशाखा प्रमुख महासेनानी दिलीप रायमाझीलाई खबर गर्नुभयो । सबैलाई आफ्नो जिम्मेवारीमा तैनाथ रहन आदेश गर्‍यौं ।
यही बेला दीपेन्द्र सरकारका एडीसी राजु कार्कीले पोखरामा अधिराजकुमार ज्ञानेन्द्र सरकारसँग सम्पर्क गरिरहनुभएको थियो । मोबाइलमा उहाँले नै सरकारलाई घटनाबारे पहिलो जाहेरी गर्नुभएको थियो । सरकारको काठमाडौं सवारीका लागि हेलिकप्टर पठाउने तयारी गरियो ।
काठमाडौं एयरपोर्ट र पोखरा एयरपोर्टमा सेना परिचालन गरियो, रात्रि हवाई अवतरणका लागि । मेरो मनमा भने विभिन्न शङ्का–उपशङ्काका साथै कसरी समस्यासँग जुध्ने भनेर अनेक तरङ्ग उब्जिरहेका थिए । सबै जना धेरै आत्तिएर दौडधूप गरिरहेको देखिरहेको थिएँ । तर त्यसले मात्र समस्याको समाधान नहुने थियो । अब समस्यालाई कसरी पार लगाउने भनेर एकदमै सोचेँ ।
तर केही उपाय पनि देखिरहेको थिइनँ । त्यस बेला मेरो मनले के भन्यो भने– यहाँ यताउता गरेर मात्र हुँदैन, एउटा निश्चित योजनाका साथ अघि बढ्यो भने मात्र समस्याबाट मुक्ति पाउन सकिन्छ ।
यसैबीच सरकारहरुको हत्या भएको समाचार हावासरि फैलिन थाल्यो । मलाई चिन्ने विभिन्न साथीभाइ, नाता–सम्बन्ध सबैतिरबाट फोन आउन थाल्यो । क्षणक्षणमा म प्रधान सेनापतिसँग छलफल गरिरहेको थिएँ । यसैबीच मैले वरिष्ठ जर्साबहरु, गृहसचिव, दुवै प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई फोन गरेँ । सबैलाई एउटै कुरा भनेँ, ‘दरबारमा ज्यादै संवेदनशील घटना घटेको छ । तपाईंहरु सबै आ–आफ्नो कार्यालयमा स्ट्यान्डबाई ड्युटीमा बस्नुहोला । आफू अन्तर्गतका सबै युनिटलाई समेत स्ट्यान्डबाई राख्नुहोला ।’ सेनाको बलाध्यक्ष रथी दुर्गानाथ अर्याल र बलाधिकृत रथी प्यारजङ्ग थापा हुनुहुन्थ्यो । त्यही बेला बलाधिकृत थापाको फोन आयो । उहाँलाई पनि मैले त्यही भनें ।
राजदरबारको एडिसी अफिसमा फोन गरेर मैले सबै सचिवलाई तुरून्त बोलाएर सचिवालयहरु खोल्न अहा्एँ । मङ्गल सदन खोल्न भनेँ । मेरो सचिवालयमा कार्यरत प्रमुख सेनानी कुमार बुढाथोकीलाई फोन गरेर कार्यालय खोलेर बस्न भनेँ । साढे १० जति बज्दा हेलिकप्टर उडेको आवाज सुनियो । त्यो हेलिकप्टर पोखराका लागि उडेको थियो । तर केही बेरमै खराब मौसमका कारण पोखरा जान नसकेको खबर आयो । हामीलाई राति एभ्रो उड्न सक्छ भन्ने होस भएन । हामी खालि हेलिकप्टरको पछि लाग्यौं ।
त्यसपछि म दरबार गएँ । सिभिल लुगामा भएकाले अफिस पुगेर युनिफर्म लगाएँ । त्यतिन्जेल प्रमुख सचिव पशुपतिभक्त महर्जन, प्रमुख निजी सचिव सुदनप्रसाद पोखरेल, सचिव सागरप्रसाद तिमिल्सिना, संवाद सचिव मोहनबहादुर पाण्डे, प्रमुख राजदरबार पदाधिकारी शारदाप्रसाद प्रधान आइसक्नुभएको थियो । हामी महाराजाधिराज सरकारको कार्यालय मङ्गल सदनको मिटिङ हलमा जम्मा भयौं ।
मैले सबै सचिवलाई त्यति बेलासम्म थाहा पाएको सबै वृत्तान्त जानकारी गराएँ । मेरो ख्यालमा त्यो बेलासम्म उहाँहरुलाई खासै जानकारी थिएन । एकदमै चाँडो–चाँडो हामीले के गर्ने भनेर निधो गर्नुपर्ने थियो । मैले नै प्रधानमन्त्रीलाई खबर गरेर यहाँ बोलाऔं कि बालुवाटार नै जाऔं भनेर कुरा राखें । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पशुपतिभक्त महर्जनले फोन गरेर ‘एकदमै जरुरी भएकाले म भेट्न आउँछु’ भन्नुभयो । उहाँले बोलाएपछि प्रमुख सचिव प्रधानमन्त्री निवास, बालुवाटार जानुभयो । प्रधानमन्त्रीलाई यो कुराको अनौपचारिक जानकारी चाहिँ भइसकेको रहेछ । प्रधानमन्त्री र प्रमुख सचिव केही बेरमै राजदरबार आइपुग्नुभयो । साढे ११ बजिसकेको थियो । मैले नै प्रधानमन्त्रीलाई अहिलेसम्मका सबै
घटना जानकारी गराएँ ।
प्रधानमन्त्री र हामी सचिवहरुले मङ्गल सदनमै छोटो छलफल गर्‍यौ“ । प्रधानमन्त्रीले ‘यस्तो आपत्मा के गर्ने तपाईंहरु योजना बनाउनुस्, त्यस अनुसार श्री ५ को सरकारले आवश्यक सबै व्यवस्था मिलाउनेछ, बरू हामी सैनिक अस्पताल जाऔ“, त्यही“ बसेर सबै विषयमा छलफल गरौंला’ भन्नुभयो । उहाँको भनाइमा हामी सहमत भयौ“ र सबै जना अस्पताल पुग्यौं ।
त्यहाँको कारूणिक दृश्य देखेर प्रधानमन्त्री निकै भावविह्वल हुनुभयो । एक छिन त केही बोल्नै सक्नुभएन । त्यसपछि प्रधानमन्त्रीले मुमा बडामहारानी सरकारको दर्शन गर्नुभयो र डाक्टरहरुसँग कुरा गर्नुभयो । के गर्ने कसो गर्ने भनेर उच्च चासो दिनुभयो । हरेक विषयमा प्रधानमन्त्रीले अग्रसरता लिन थाल्नुभयो । त्यति वृद्ध मान्छेको फुर्ती देखेर हामीमा पनि होस र जोस आयो । उहाँ कत्ति
पनि आत्तिनुभएको देखिएन । घटनाले भावविह्वल हुनु त स्वाभाविक नै थियो ।
हामीले दरबारबाटै प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, राजपरिषद् स्थायी समिति सभापति डा. केशरजङ्ग रायमाझी र प्रमुख विपक्षी दलका नेता तथा नेकपा एमाले महासचिव माधवकुमार नेपाललाई खबर गरेका थियौं । डा. रायमाझी सैनिक अस्पताल पुगिसक्नुभएको रहेछ । दरबारबाटै उपप्रधानमन्त्री रामचन्द्र पौडेल र अन्य मन्त्रीलाई पनि घटनाबारे जानकारी गराइएको थियो ।
घटनास्थलको निरीक्षणपछि प्रधानमन्त्रीले ‘अधिराजकुमार ज्ञानेन्द्र कहाँ होइबक्सन्छ ? भनेर सोध्नुभयो । ज्ञानेन्द्र सरकार पोखरा भएको जानकारी गराएपछि उहाँले ‘सबैभन्दा पहिले सरकारलाई काठमाडौं ल्याउनुप¥यो, त्यसपछि के गर्ने भनेर सल्लाह गरौंला’ भन्नुभयो । उहाँले सुरक्षा प्रबन्ध राम्रोसँग मिलाउन पनि सबैलाई निर्देशन दिनुभयो । यसैबीच सैनिक अस्पतालको माथिको अतिथि कक्ष, कार्यालय, बैठक कक्ष सबै खोलियो । प्रधानमन्त्री रातैभर अस्पतालमा बस्नुभयो । मुलुकमै समस्या आइपरेका बेला प्रधानमन्त्री
अग्रसर नहुने प्रश्नै थिएन । उहाँ अस्पताल आएर बसेपछि काम गर्न धेरै सहज भयो ।
प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, एमाले महासचिव नेपाल आइसकेपछि प्रधानमन्त्री, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझीसहित उहाँहरु सबै एउटै कोठामा बसेर घटनाबारे छलफल गर्दै अब कसरी अगाडि बढ्ने भनेर सल्लाह गर्न थाल्नुभयो । प्रधानमन्त्री कोइराला क्षण–क्षणमा सोधिरहनुभएको थियो, ज्ञानेन्द्र सरकारको सवारी कति बेला हुन्छ भनेर । काठमाडौंबाट हेलिकप्टर उड्ने क्रम जारी थियो । तर धेरै प्रयास गर्दा पनि काठमाडौ“ र पोखराबीचको खराब मौसमका कारण हेलिकप्टर पोखरा
पुग्नै सकेन । ज्ञानेन्द्र सरकारलाई जसरी भए पनि काठमाडौं ल्याउनैपरेको थियो ।
‘अब हेलिकप्टरबाट सम्भव छैन, त्यतातिर नलागौं, मोटरबाटै सवारीको प्रबन्ध गरौं’ भनेर आफैले पोखरा फोन गरेर ज्ञानेन्द्र सरकारसँग कुरा गरेँ । सरकारलाई काठमाडौंको सबै स्थितिबारे जानकारी भइरहेकै थियो । मैले ‘हेलिकप्टर आउन सकेन, मोटरबाटै सवारी चलाउनुपर्ला, सुरक्षाको प्रबन्ध गरौं ?’ भनेर जाहेर गरेँ । त्यसपछि ३ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी प्रकाशबहादुर बस्नेतलाई फोन गरेर ‘प्रहरी र सेनाको राम्रो सुरक्षा स्कर्टिङ सहित ज्ञानेन्द्र सरकारको काठमाडौंका लागि सवारी चलाउनू’ भनी अह्राएँ । यसरी रातको साढे २ बजे मोटरमा पोखराबाट काठमाडौंका लागि सरकारको प्रस्थान भयो । हामीले काठमाडौंबाट गजुरीसम्म हेलिकप्टर पठायौं ।
ज्ञानेन्द्र सरकारको पोखरा कार्यक्रमबारे हामीलाई केही थाहा थिएन । वीरेन्द्र सरकारलाई थाहा थियो होला । सरकारहरु कहीँकतै जाँदा वीरेन्द्र सरकारलाई सोधेर जाने चलन थियो । ज्ञानेन्द्र सरकार साता दिनअघि मात्र चितवन गइबक्सेको थियो भन्ने सुनेको थिएँ । सायद चितवनबाटै पोखरा सवारी होइबक्सेको थियो । श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष होइबक्सेकाले सरकार कोषका कार्यक्रममा सरिक हुन चितवन र पोखरा सवारी भएको हुनुपर्छ ।
सरकारका साथमा प्रभुशमशेर जबरा र वीरेन्द्रबहादुर शाह (लव राजा पनि हुनुहुन्छ भन्ने सुनेँ । सरकार पोखराको रत्न मन्दिरनजिकै रहेको हिमा गृहमा राज होइबक्सेको रहेछ । अधिराजकुमार हिमालयले निर्माण गरेको बङ्गला भएकाले यसको नाम हिमा गृह राखिएको थियो । अधिराजकुमार हिमालयको निधनपछि अहिले यो बङ्गला ज्ञानेन्द्र सरकारको नाममा सरेको हो ।
राति ३ बजे म एक पटक पुनः दरबार गएँ । सरकारका एडीसीहरु र सैनिक प्रहरीका अधिकृतहरु गएर घटना घटेको त्रिभुवन सदनमा हेर्‍यौँ । बिलियार्ड बैठकको सिसाको ढोका फुटेको थियो । घटनापछि भित्र जाने क्रममा एडीसीहरुले फुटाएका रहेछन् । गोलीका खोका यत्रतत्र छरिएका थिए । वीरेन्द्र सरकारको चस्मा र टोपी त्यहीँ देखें । कैयौंको हाते ब्याग र अन्य ससाना सामान छरपस्ट थिए । जताततै रगतैरगत । कोठामा पङ्खा र एसी चलिरहेको थियो, बत्ती बलिरहेको थियो । त्यो दृष्यले मलाई स्तब्ध बनायो । मैले सेन्ट्री थप्न लगाएँ । ‘कसैलाई पनि भित्र पस्न नदिनू, जेजस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा रहन दिनू’ भनेर म फेरि अस्पताल आएँ ।
हामी अस्पताल फर्कंदा वीरेन्द्र सरकार सहित अन्य सरकारहरुको स्वास्थ्यमा केही सुधार होला कि भन्ने आशा मारिसकिएको रहेछ । वास्तवमा अस्पताल पुर्‍याउनुअघि नै बाटोमा वीरेन्द्र सरकारको मृत्यु भइसकेको रहेछ ।
नयाँ राजा घोषणा नगरेसम्म महाराजाधिराजको मृत्युको घोषणा गर्न नमिल्ने राजपरम्परा रहिआएको छ । त्यसैले अब के गर्ने भनेर हामी छलफलमा बस्यौं । सरकारको मृत्युको घोषणा कसरी गर्ने र कसलाई कसरी नयाँ राजा बनाउने भन्ने कुरा बहुतै कठिन र जटिल थियो । त्यस अवस्थामा प्रधानमन्त्री, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझी, सभामुख रानाभाट, एमाले महासचिवले प्रभावकारी भूमिका निर्वाह गर्नुभयो । राजदरबारका सबै सचिवहरु सक्रिय हुनुभयो । त्यहाँ प्रधानमन्त्री सहितको बैठक पटक–पटक बस्यो ।
बिहान राजपरिषद्को बैठक बोलाउने निधो भयो । बैठकमा महान्यायाधिवक्तालाई पनि बोलाउने तय भयो । बिहान ६ बजे हेलिकप्टर सैनिक अस्पतालमा अवतरण गर्‍यो । प्रधानमन्त्री कोइराला, राजपरिषद्का सभापति डा. रायमाझी, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन र एमाले महासचिव नेपाल हेलिप्याडसम्म ज्ञानेन्द्र सरकारलाई लिन जानुभयो । प्रधान सेनापति र राजदरबारका हामी सचिवहरु पनि हेलिप्याडसम्मै गयौं ।
ज्ञानेन्द्र सरकार अस्पतालमा माथि सवारी भयो । ट्रमा सेन्टरमा सबैभन्दा पहिले राजा वीरेन्द्रको शव थियो । त्यसपछि रानी ऐश्वर्यको । अन्य शवहरु त्यही छोपेर राखिएका थिए । अपरेसन थिएटरमा युवराजाधिराज दीपेन्द्र, अधिराजकुमारी कोमल, कुमार गोरख, केतकी चेस्टर र अधिराजकुमारी शोभाको अपरेसन भइरहेको थियो । अपरेसन थिएटरको कमी भएकाले डाक्टरहरुले अस्पतालको ड्रेसिङ रूममै पनि अपरेसन गरिरहनुभएको थियो ।
त्यो दिन डाक्टरहरुले ठूलै जोखिम मोलेर र साहसका साथ राम्रो काम गर्नुभयो । ज्ञानेन्द्र सरकारले अस्पतालको सबै दृश्य हेरेपछि प्रधानमन्त्री, राजपरिषद्का सभापति र प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग कुरा गरिबक्स्यो । सरकारको अनुहार मार्मिक र शोकविह्वल देखिन्थ्यो ।
सरकारको सवारीपछि सैनिक अस्पतालको पुस्तकालय हलमा अधिराजकुमार ज्ञानेन्द्रका साथै प्रधानमन्त्री कोइराला, प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझी र प्रमुख विपक्षी दलका नेता नेपाल सम्मिलित बैठक बस्यो ।
हामी सचिवहरु पनि सहभागी भयौं । बैठकमा राजपरिषद्को बैठक बसेर त्यसले नयाँ राजा घोषणा गर्ने तय भयो र यस घटनाको जाँचबुझ गर्नेबारे छलफल भयो । सरकारबाट घटना सम्बन्धी सबै छानबिन प्रक्रिया कानुन बमोजिम नै गर्न हुकुम भयो । साथै यस घटनामा मृत्यु भएका सबैको पोस्टमार्टम गर्न समेत निर्देशन बक्स्यो । यही बैठकमा राजदरबार हत्याकाण्डबारे जाँचबुझ गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने निधो भयो ।
मलाई के सम्झना छ भने, ‘यत्रो घटना घट्यो, अब यसको निष्पक्ष छानबिन हुनुपर्छ’  भनेर एमाले महासचिव माधवकुमार नेपालले निकै जोड दिनुभएको थियो । सुरूमा न्याय क्षेत्रका व्यक्ति मात्र राखेर आयोग गठन गर्ने प्रस्ताव आएको हो । तर महासचिव नेपालले नै ‘होइन, पार्टीका वरिष्ठ नेताहरु र विपक्षीका नेता समेत बसेर आयोग गठन गरौं’ भनेर प्रस्ताव गर्नुभयो ।
साथै उहाँले ‘यदि त्यसो नगर्ने हो भने उच्चस्तरीय आयोगमा प्रधान न्यायाधीशलाई अध्यक्ष राखेर सदस्यमा सभामुख रानाभाट र प्रमुख विपक्षी दलको नेताका रुपमा मलाई समेत राख्नुहोस्’ भनी प्रस्ताव गर्नुभयो । बैठक सकेर फर्कने क्रममा समेत उहाँले ‘आयोगमा म छुटुँला नि !’ भनिरहनुभएको थियो । वास्तवमा उहाँको प्रस्ताव र तर्क सही पनि थियो । उहाँकै प्रस्तावलाई प्रधानमन्त्रीले समर्थन जनाउनुभएको हो । त्यही प्रस्ताव अनुसार प्रधान न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निधो भएको हो ।
राजपरिषद्को बैठकपछि दीपेन्द्र सरकारलाई नयाँ राजा घोषणा गरियो । वीरेन्द्र सरकारको मृत्युको घोषणा समेत भयो । राजपरिषद्को बैठकद्वारा अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक बनाउने निर्णय भयो । शनिबार दिउँसो स्वर्गीय राजाको शव दाहसंस्कारका लागि आर्यघाट लैजानुपूर्व अस्पतालको प्राङ्गणमै ज्ञानेन्द्र सरकार, प्रधानमन्त्री कोइराला, प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद् सभापति डा. रायमाझी, प्रमुख विपक्षी दलका नेता नेपाल लगायत वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा राजदरबार हत्याकाण्डबारे उच्चस्तरीय आयोग गठन सम्बन्धमा पुनः छलफल चल्यो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रामचन्द्र पौडेल, सबै सुरक्षा अङ्गका प्रमुखहरु, श्री ५ को सरकारका केही सचिवहरु पनि छलफलमा सहभागी हुनुहुन्थ्यो । छलफलपश्चात् बाहिरको वातावरण एकदमै तनावग्रस्त बन्दै गएका कारण उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय भएको कुरा तत्काल सञ्चार माध्यम मार्फत अनौपचारिक रुपमा सार्वजनिक गर्ने र औपचारिक रुपमा राज्यसहायक श्री ५ ज्ञानेन्द्रबाट घोषणा गर्ने तय भयो । यो कुरा प्रधानमन्त्री कोइरालाले प्रस्ताव गर्नुभएको थियो, जसमा त्यहाँ उपस्थित सबैले सहमति जनाएका थिए ।
त्यसपछि प्रमुख सचिव पशुपतिभक्त महर्जनले आयोगमा रहने सबै सदस्यलाई छेउमा गएर उहाँहरुको कानैमा आयोगको सदस्यमा बस्ने कि नबस्ने भन्नेबारे सोध्नु पनि भयो, जसमा सबै जनाले स्वीकृति जनाउनुभएको थियो ।
त्यसपछि राजदरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको कुरा सार्वजनिक गरियो । तर, आयोग गठन भइसकेपछि एमाले महासचिव नेपालले के कारणले हो, आयोगमा नबस्ने भनेर राजीनामा दिनुभयो ।
यस्तो किसिमको दुर्घटना हुँदा के गर्ने, कानुनी रुपमा यसका केके उपाय छन् भनेर सोच्ने र विचार गर्ने समय थिएन हामीसँग । अधिराजकुमार ज्ञानेन्द्रबाट मृत्यु भएका सबैको पोस्टमार्टम गरी कानुन अनुसार सबै प्रक्रिया पूरा गर्न हुकुम भएको हो । पोस्टमार्टमका लागि डा. हरिहर वस्ती, प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट प्रतिनिधि समेत झिकाइसकिएको थियो । सरकारी वकिल पनि अस्पतालमै झिकाउने तयारी भइरहेको थियो ।
घटनाको फाइल तयार पार्ने काम चलिरहेको थियो । यसैबीच मुमा बडामहारानीबाट ‘महाराजाधिराजको शरीर चाहिँ नचिर्ने हो कि ?’ हुकुम भयो । अनि प्रधानमन्त्री कोइराला पनि यस कुरामा सहमत हुनुभयो । उहाँले ‘घटना यो व्यक्तिले गराएको हो भन्ने स्पष्टै छ, मृत्युको कारण सबै छर्लङ्ग छँदै छ’ भन्नुभयो ।
यसपछि केका लागि पोस्टमार्टम गर्ने भन्ने धेरैको तर्क आयो । सोही अनुसार पोस्टमार्टम नगर्ने कुरा तय भयो । त्यो बेलाको परिस्थिति नै कस्तो थियो भने तत्काल जेजे आइपर्छ, त्यति बेला मनमा जे विचार आउँछ, यो सही भन्ने लाग्यो भने तत्कालै निर्णय लिनुपर्दथ्यो ।
यस्ता कुराको निर्णय लिने को हो त ? यसको इन्चार्ज हुने कुरा नै भएन । नयाँ राजाको घोषणा गर्न भने सबैभन्दा महङ्खवपूर्ण भूमिका राजपरिषद्को हुने भयो । त्यसैले शनिबार बिहानै राजपरिषद्को बैठक बोलाइयो । बैठकले राजा वीरेन्द्रको स्वर्गारोहण भएको घोषणा गर्नुका साथै नेपालको राजकीय परम्परा अनुसार होसमा नभए पनि युवराजाधिराज दीपेन्द स्वर्गे नभएकाले सरकारलाई नै राजा बनाउने निर्णय गर्‍यो ।
(राजा वीरेन्द्रका तत्कालीन सैनिक सचिव शाहद्वारा लिखित मैले देखेको दरबारबाट)
‘यो हाम्रो उसलाई सम्झने बाटो हो’
चार वर्षअघि आजकै दिन वरिष्ठ कलाकार हरिवंश आचार्यको जीवनमा पत्नी मीराको निधनले अकल्पनीय दुःख ल्याएको थियो। त्यो घटनाले उनका आँखा धेरै दिन ओभाएनन्। पत्नी वियोगमा उनी एक वर्ष त सार्वजनिक जीवनमै पनि आउन सकेनन्।
यी बितेका वर्षहरूले उनको घाउ अवश्यै कम गरेको छ। कम्तीमा उनी रुन छाडेका छन्। हो, उनी सोमबार देखिने गरी रोएनन्। तर, उनको भित्री मनको उदासी भने अनुहारमा प्रष्टै देखिन्थ्यो।
हरिवंश र उनको परिवारकै लागि एउटा सन्तोषको विषय भने सोमबारदेखि थपिएको छ। त्यो हो– उनको पुर्ख्यौली थलो काभ्रेपलाञ्चोकको संखुमा स्थापना भएको मीरा सेन्टर।


हरिवंशकी ती प्रिय मीराका सम्झना अब एउटा स्मारकका रुपमा उभिएका छन् त्यहाँ। सेन्टरभित्र स्थापित मीराको सालिक उनको निधनपछि हरिवंशको जीवनमा आएकी उनकी पत्नी रमिलाले अनावरण गरिन्।
पत्नी रमिलाकै छेउमा उभिएर उदासीले भरिएका दृष्टिले हरिवंशले हेरिरहेका थिए। छेउमै थिए कान्छा छोरा मोहित। अनि उनको परिवारका सदस्यहरू। सबैले मीराको शालिकमा फूलमाला र अविर लगाइदिए। लाग्थ्यो– सबैजना उनलाई आफू पनि आएको जनाउ दिन चाहन्छन्।
मीराको असामयिक निधनले सम्पूर्ण कलाकार क्षेत्रलाई पनि शोकमा डुबाएको थियो। मीरा सेन्टर र त्यो सेन्टरमा स्थापित उनको शालिक अनावरण कार्यक्रममा चलचित्र र हाँस्य कलाको क्षेत्रमा सक्रिय धेरै कलाकारको उपस्थिति थियो। ती सबै उनको सालिक अघि उभिएर उनीप्रति श्रद्धा प्रकट गरिरहेका थिए।
उनीसँगै उभिएर तिनीहरूले सेल्फी पनि खिचिरहेका थिए। समय अलि सहज भएको थियो।
चाइल्डरिच नेपालको पहलमा जापानी राजदूताबास लगायत दर्जनौं संघसंस्थाहरूसमेतको सहयोगमा स्थापित मीरा सेन्टरले पाँच वर्ष उमेर नपुगेका बालबालिकाहरूलाई पूर्व स्कुल सेवा दिने भएको छ। त्यस्तै ती बालबालिका र तिनका आमाहरू पनि  यो सामुदायिक भवनबाट लाभान्वित हुनेछन्।
जापानी राजदूत मासासी ओगावाले भवनको उद्‌घाटन गर्दै यस क्षेत्रमा बालबालिकालाई पूर्व स्कुल सुविधा उपलब्ध नभएकोले यो भवनले सेवा पुर्‍याउने आशा व्यक्त गरेका थिए। ‘यसले भविश्यका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ’ उनले भने, ‘यस्तो केन्द्र काठमाडौं टाढाको यो गाउँमा स्थापना किन गर्नु पनि आवश्यक भयो भने निजी क्षेत्रले संचालन गर्ने यस्तो केन्द्र निकै महँगो हुन्छ।’




चाइल्ड रिच नेपालका छिरिङ लामाले हरिवंशबाट प्राप्त भएको दुई रोपनी जग्गामा पूर्व बाल विकासका निम्ति यो केन्द्र स्थापनाका निम्ति सहमति गरेर प्रक्रियालाई अघि बढाएका थिए। भवन निर्माणका बेला स्वयंसेवी बिदेशी विद्यार्थीहरूले आएर जमिन सम्याउने र भवनको भित्तामा रङ लगाउने काम समेत गरेका थिए।
सबैभन्दा महत्वपूर्ण त यो पुर्ख्यौली सम्पत्तिमा मीराका निम्ति पनि केही स्थान होस् भन्ने अपेक्षा परिवारले गरेको देखिन्थ्यो। ‘मान्छे भनेको सधैँ बाँच्दैन तर ऊ ४७ वर्षकै उमेरमा गई’ हरिवंशले मीराप्रतिका गहिरा भावनालाई समेट्दै भने, ‘यो हाम्रो उसलाई सम्झने बाटो हो।’
‘हामी आफैँ त उसलाई सम्झन्छौं नै अरुले पनि सम्झिउन भनेर यो काम गरेका हौं' उनले अगाडि भने, ‘हाम्रो यो पुर्ख्यौंली जग्गामा उसको पनि अधिकार छ। यो ठाउँ हामीले उसका निम्ति बनाइदिएका हौं।’
हरिवंश पाहुनाको स्वागत र विदाइका निम्ति व्यस्त थिए। उनी बिहानै त्यो ठाउँमा पुगिसकेका थिए।
मीरा सेन्टरको शिलान्यासका बेला झमझम झरी परिरहेको थियो। मानौं प्रकृति पनि त्यो बेला शोकमग्न थियो। उद्घाटनको दिन सोमबार भने दिन खुलेको थियो। हरिवंशको अनुहार मलिन भए पनि मीराको स्मारकका निम्ति यति काम गर्न पाएको सन्तुष्टी देखिन्थ्यो।
पहिलेको स्थितिलाई उनको जीवनमा सधैँ अभिन्न रहेका अर्का वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि सम्झना गरे। जग्गा पूजा गर्न आएका बेला उनलाई पनि निकै गाह्रो भएको थियो। ‘आज फेरि मीराको मूर्ति देखेपछि म फेरि अल्मिलिएँ' मदनकृष्णले भने, ‘फेरि मलाई लाग्यो अब धेरै भावुक हुनुपर्छ जस्तो मलाई लाग्दैन। त्यो भावुकताको क्षण परिवर्तन भइसक्यो।’
उनले अगाडि थपे, ‘मृत्यु अवश्यम्भावी छ। तर मीराको मृत्यु सम्मानित छ।’
भवन उद्घाटन, शालिक अनावरण, फोटो सेसन आदिइत्यादि सकियो। पाहुनाहरू विदा भए। हिड्नेबेला भएपछि फेरि एक पटक मदनकृष्ण र हरिवंश (महजोडी)ले शालिकलाई बीचमा पारेर फेरि तस्विर खिचे। त्यो पंक्तिमा थपिइन् रमिला पनि। अनि अरुअरु सबै।
हरिवंश आफैँ पनि कति धेरै भावुकतामा थिए होलान्। तर, तिनले त्यसलाई धेरै प्रकट हुन दिएका थिएनन्। धन्य, उनको परिवार र उनकी पत्नी रमिला सबैले स्थितिलाई सहज बनाइरहेका थिए।
हामी हिड्यौं त्यहाँबाट। भावुकताको क्षण सकियो भन्ने मदनकृष्ण आफैं कतै डुबिरहेका थिए। उनले हरिवंश र मीराको सूर्यबिनायकमा विवाह भएको क्षणलाई सम्झिए। त्यो बेला आफू र पत्नी यशोदा, हरिवंशकी सासु र नव विवाहित दुलही मीरालाई ट्याक्सीमा राखेर घर लैजादै गर्दाको समय उनको मनमा थियो।
‘म कहिल्यै बिर्सन्न त्यो क्षण’ उनले भने, ‘त्यो बेला ट्याक्सीमा गीत बजिरहेको थियो– प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँकहाँ पुर्‍याउँछ कहिले हँसाउँछ कहिले रुवाउँछ...।'
७ वैशाख, काठमाडौं ।


राजधानीमा आजदेखि सुरु भएको १४ वर्षमुनिका महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिपमा नेपालले इरानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा नेपाली महिला टोलीले इरानलाई ३–२ गोलअन्तरले पाखा लगाउँदै विजयी भएको हो ।

नेपालको जितमा सरु लिम्बु र रेखा पौडेलले गोल गरे । लिम्बुले खेलको २५ औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् ।

लिम्बुले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै इरानकी फतेमे अमिरीले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याइन् । उनले खेलको पहिलो हाफको २७ औँ मिनेटमा गोल गरेकी थिइन् ।

त्यस्तै नेपालकी पौडेलले खेलको ३२ र ४७ औँ मिनेटमा दुई गोल थपेपछि नेपालको जित सुनिश्चित भएको थियो । त्यस्तै इरानकी फतेमे घसेमीले खेलको दोस्रो हाफको अत्तिरिक्त समय (७० प्लस ३) मा एक गोल फर्काएकी थिइन् ।
प्रेममा धोका खाएपछि महिलाहरू सबैभन्दा बढी के गर्छन् ? यो सम्बन्धमा केहि समय अगाडि गरिएको सोधमा अनौठो तथ्य पत्ता लागेको छ ।



फोर्जा सप्लिमेट्सद्धारा गरिएको शोधमा सम्बन्ध टुटेपछि महिलाहरूले आफ्नो सबैभन्दा बढी आफ्नो तौल घटाउने गर्छन् ।



डेली एक्सप्रेसमा प्रकाशित सोध अनुसार लामो समयसम्म रहेको प्रेम सम्बन्ध टुटेपछी प्राय महिलाहरू एक महिनामा २ देखी साढे २ किलो तौल घटाउँछन् । शोधमा समावेश गरिएका १ हजार जनासँग गरिएको प्रश्नमा ४६ प्रतिशत सहभागीले सम्बन्ध टुटेपछिको दुःखमा खाना कम खाने गर्छन्, जसले शरिरको तौल घटाउँछ ।


यस्तै, ४७ प्रतिशत महिलाहरूले तौल घटाउनुको कारण आफू पहिलेको भन्दा आकर्षक हुन चाहेको बताउँछन् । यस्तै, ७७ प्रतिशत महिलाले आफूहरू प्रेम सम्बन्ध अघि स्लिम भएको र प्रेम सम्बन्धपछी मोटाउँदै गएको बताउँदै आफ्नो शरिरलाई पुरानै स्थानमा ल्याउनका लागि तौल घटाउने गरेको बताउँछन् ।
एजेन्सी । भारतको एम्स अस्पतालकी महिला डाक्टर प्रिया वेदीको सुसाईड नोटका आरोपी डा.कमल वेदी थुनामा परेका छन् ।
उनलाई तीस हजारी अदालतले १४ दिन हिरासतमा राख्न आदेश दिएको हो । प्रहरीले उनलाई सोमबार अदालतमा पेश गरेको थियो ।
उता प्रियाको परिवारले आरोपी डाक्टर कमल वेदीले केही दिनअघि निद्राको औषधि खुवाएको आरोप लगाएको छ ।
एम्सकी ३१ वर्षीय डाक्टर प्रियाले आफ्ना पति समलिंगी भएको र आफूलाई गम्भीर मानसिक प्रताडना दिएको भन्दै सुसाईड नोट लेखेर आत्महत्या गरेकी थिइन् ।
पाँच वर्षअघि विवाह बन्धनमा बाँधिएका दुवैजना एम्सका डाक्टर हुन् ।

कपिलबस्तु । शान्तिका दुत गौतम बुद्ध भारतमा जन्मिएका हुन भनि भारतिय प्रधानमन्त्री मोदीले दिएको बिरोधाभास पूर्ण बक्तब्यको आलोचना गर्दै तत्काल सुधार्न माग गरिएको छ ।

‘लुम्बिनी कपिलबस्तु अभियान विश्व संयोजक’ संस्थाले मोदीलार्इ चेतावनी दिएको हो । मोदीले केहि समय अगाडि युरोप भ्रमणमा रहँदा बोलेको उक्त भनाईलाई सच्याउन माग गर्दै बिज्ञप्ति जारी गरेको हो । गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने तर फेरी अहिले युरोपमा गएर अर्कै कुरा बोल्नु अस्वभाविक र असान्र्दभिक छ ।


मोदिले मैले नेपालमा भनेको कुरा सहि हो र युरोप भ्रमणमा बोलेको कुरा भुल भएकोले पुनः सच्याउनु पर्दछ भन्नु पर्ने माग बिज्ञप्ति मार्फत राखिएको छ ।

 संस्थाले गौतम बुद्ध नेपालमा भएको प्रशस्त बैज्ञानिक एबं पुरातात्विक प्रमाण रहेको र त्यसैको आधारमा बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले बताईसकेको साथै बताउने क्रम रहेको लुम्बिनी-कपिलबस्तु दिवस अभियानका विश्व संयोजक राम कुमार श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।- न्युज अभियान बाट
२०७२ वैशाख ७ गते
काठमाडौं । आजभोली समाजमा समलिङ्गी विवाहको चलन बढ्दै गइरहेको छ । महिला मात्रै हैन पुरुष र पुरुषबीच पनि विवाह तथा शारीरिक सम्बन्ध राख्न थालेका छन् । यद्यपी हाम्रो समाजले यो कुरा सहर्ष स्वीकार गर्न सक्दैन् ।


तर, विकसित समाजका मानवहरुले समलिङ्गी विवाह र शारीरिक सम्बन्ध राख्ने गरेका कतिपय उदाहरण छन् । भर्खरै मात्र त्यस्तो घटना फेरि दोहोरिएको छ । महिलासँग विवाह गरेका पुरुष पनि परपुरुषसँग अनैतिक सम्बन्ध राख्दै आएको खुलासा भएको छ ।

पेसाले डाक्टर कमलले परपुरुषसँग सम्बन्ध राखेको थाहा पाएपछि उनकी स्वास्नीको दिल्लीको एक होटलमा रहस्यमय हत्या भएको छ । होटलमा आराम गर्न गएकी कमलकी पत्नि डाक्टर प्रियाको आइतबार रहस्मय हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतक प्रिया एम्स के एनेस्थिसिया डिपार्टमेंटकी रेजिडेंट डाक्टर थिईन् । उनको हत्या हुनुअघि फेसबुकमा लोग्नेसँग झगडा भएको लेखेकी थिईन् ।

मृतक परिवारका अनुसार प्रिया र कमलको विवाह २०१० सालमा भएको थियो । तर उनीहरुबीच बोलचाल राम्रो थिएन् । डाक्टर कमल परपुरुषसँग पल्किएकाले उनीहरुबीच बेला बेला झगडा हुने गरेको परिवारले बताएका छन् ।
प्रहरीले डाक्टर प्रियाको शवलाई पोष्टमार्टमका लागि सरकारी अस्पताल लगेको छ । हत्या कस्ले गरेको भन्ने बारेमा छानविन भइरहेको प्रहरी इन्सपेक्टर एस के चौहानले जानकारी दिएका छन् । एजेन्सी
काठमाडौ । दीवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता खड्का पीडाबाट उठेर सामान्य जीवनमा फर्किन कोसिस गर्दैछिन् । पति बियोगमा परेयता लामो समय ओछ्यानमै रहेकी श्वेता यतिबेला पुरानै जीवनमा फर्किन थालेकी छिन् ।




आजकल श्वेताको अनुहारमा मुस्कान देखिन थालेको छ । आफैले अभिनय गरेको चलचित्र ‘कोहिनुर’ प्रदर्शनका लागि अमेरिका गएकी श्वेता अमेरिकामा रहेका नेपालीसंगको जमघटमा रमाउन थालेकी छिन् ।
‘कोहिनुर’ प्रदर्शनकै लागि श्वेतासँगै अमेरिका गएका नृत्य निर्देशक बसन्त श्रेष्ठले श्वेतामा पहिलेको तुलनामा थोरै परिवर्तन आएको बताए ।

‘अनुहारमा हाँसो देखिन थालेको छ, हामीसँग रमाएर कुरा गर्न थालेकी छिन् ।’ नृत्य निर्देशक श्रेष्ठले भने ।
निर्देशक श्रेष्ठलाई श्वेताले गुरु मान्ने गरेकी छिन् । श्रेष्ठको पुतलीसडकमा रहेको डान्स सेन्टरमा नृत्य सिक्दा सिक्दै श्रीकृष्णले श्वेतालाई नायिका बनाएका थिए ।

अमेरिकामै बस्दै आएका नायिका ऋचा घिमिरे, पूजा चन्द, सारंगा श्रेष्ठ, उषा पौडेल निर्देशक शंकर घिमिरे लगायतका कलाकारसँग पनि उनको केही दिनअघि भेटघाट भएको थियो ।
केही शहरमा फिल्म प्रदर्शन बाँकी नै भएकाले नेपाल आउन केही दिन लाग्ने भएको छ । श्रीमानको निधनपछि बिरामी परेकी श्वेता औषधि सेवनकै कारण केही मोटाएकी छिन् ।
उसको हाँस्ने, बेहोस भएको जस्तो गर्ने जस्ता व्यवहार अलि अनौठो अवश्य हुन्। तर यिनै व्यवहारले उनले मिडिया र समाजको एक तप्काको सहानुभूति आकर्षित गरिरहेको पनि छ। यत्रो जघन्य अपराध गरेर दुई किशोरीलाई जीवनभरीको लागि कुरुप पारेवापत् ठूलोभन्दा ठूलो सजायको माग एक भागबाट आइरहँदा उनले दिएको कारण, उनको हँसिलो अनुहार र अनौठो व्यवहारले समाजको अर्को भागलाई अचम्मसँग एक किसिमले सम्मोहन झैँ गरी उनको अपराधको दोष घुमाउँदो पारामा पीडित किशोरीतर्फ तेर्स्याएको पनि देखिएको छ। र यही स्थितिले उनलाई एक किसिमको ‘मनोवैज्ञानिक पुरस्कार’ दिइरहेकोले उनको व्यवहारले निरन्तरता पाएको तर्क गर्न सकिन्छ।


विद्यार्थी, गुरु र जीवन

डा. अनुपम पोखरेल

सन्दर्भ ‘तेजाब आक्रमणकारी’ जीवन बिक ! माइसंसारका ब्लगर उमेशले मलाई प्रश्न सोध्नुभो, यो व्यक्ति पुलिसले समात्दा पनि हाँस्छ, अनौठो गतिविधि गर्छ, केही अनुमान गर्नुभयो कि ? अर्थात के दुई जना किशोरीहरुलाई तेजाब हान्ने उनी मानसिक समस्या ग्रस्त व्यक्ति हुन् ? यो प्रश्न केलाउने क्रममा म पहिले मानसिक समस्याका कारणले अपराध गर्न पुगेका अरु नै दुई व्यक्तिको विवरण दिन चाहन्छु ।

पहिलो घटना: उसलाई स्किजोफ्रेनिया भनिने मानसिक रोग लागेको थियो। यो एक कडा मानसिक रोग हो। उसो त यो रोग लागेका धेरैजसो व्यक्ति न त खतरनाक हुन्छन्, न बाहिरबाट हेर्दा रोगी जस्ता नै देखिन्छन्। तर ऊ चाहिँ आफूलाई आक्रमण गर्न आयो भन्ने दृढ विश्वासका कारण आत्मरक्षा गर्ने क्रममा एक परिचितलाई चक्कु हानेको अपराधमा अस्ट्रेलिया मेलबर्नको जेलमा परेको थियो।

ऊ केही वर्षअगाडि विद्यार्थी भएर अस्ट्रेलियाको मेलबर्न आएको थियो। ऊ जस्तै सयौँ अरु नेपाली विद्यार्थी झैँ यहाँ ऊ काम र पढाइ जेनतेन गर्दै थियो। केही साथीहरुसँग मिलेर डेरा लिएको थियो। आफन्त भन्ने यहाँ उसको कोही थिएन। कारण त थाहा भएन तर बिस्तारै उसलाई अरुहरुले मार्छन् जस्तो लाग्न थाल्यो। कतै जाँदा अरुले उसलाई हेर्ने, घुर्ने, ऊतर्फ हेरेर हाँस्ने र कुरा गर्ने उसलाई विश्वास नै हुन थाल्यो। केही साथीभाइलाई उसले भन्यो। कसैले उसको कुरा पत्याएनन्। उसलाई साथीहरु पनि उसलाई मार्न खोज्नेसँग मिलेको जस्तो लाग्न थाल्यो। साथीहरुसँग ऊ विवाद गर्न थाल्यो। साथीहरुले डेराबाट निकालिदिए।

उसले गाउँकै दाइहरुको साथ पायो। उसको अरुले मार्छन् भन्ने शंका हटिसकेको थिएन। सिरानीमा तरकारी काट्ने चक्कु राखेर सुत्न थाल्यो। एउटा दाइले उसलाई गाली गरे। ऊ अब मलाई मार्न खोज्ने षड्यन्त्रमा यही दाइ पनि सामेल रहेछ भन्ने निर्णयमा पुग्योझ। अझै पनि उसको सोचाइ र क्रियाकलाप आफ्नै सुरक्षामा नै केन्द्रित थियो। चक्कु लिएर हिँड्न थाल्यो तर कसैलाई चक्कु हान्ने योजना उसले बनाइसकेको थिएन। एक दिन आफू काम गर्ने रेस्टुरेन्ट जाने क्रममा आफूसँगै बस्ने मध्ये एक जनालाई फर्किँदै गरेको देख्दा मार्न आयो भन्ने सोचेर उसले त्यसलाई चक्कु हान्यो।

कुनै पूर्व योजना बिना बीच फुटपाथमा भएको यो घटनापछि ऊ तुरुन्तै पुलिसको फन्दामा पर्‍यषो। उसलाई ज्यान मारेको मुद्दा लाग्यो। जेलमा पनि उसको कुराकानी उस्तै हुन्थ्यो। तर ऊ अरुभन्दा भिन्न बस्ने र सकेसम्म अरुसँग कुरा नगर्ने कारणले उसको मानसिक अवस्थाबारे कसैलाई जानकारी भएन।

मेलबर्नका महावाणिज्यदूत उसलाई भेट्न नगएको भए शायद् उसको रोगको वास्तविकता बाहिर आउँदैन थियो होला। शायद ऊ अहिले पनि हत्याको कोशिशको अभियोगमा जेलमै हुन्थ्यो होला। महावाणिज्यदूत चन्द्र योञ्जनको पहलमा म उसको जांच गर्न जेलमा गएँ र उसको जाँचपड्तालपश्चात् रिपोर्ट अदालतमा बुझाएपछि उसको जेलमै उपचार सुरु भयो र केही महिनामा नेपाल फर्क्यो।

रोग सुरु मै नचिन्दा उसले आफ्नै रोगको कारणले प्रताडित हुनुपर्‍यो। रोग बढ्दै गएपछि उसले अरुलाई हानी गर्‍यो। रोग अझै पनि चिनिएन। शायद् नेपालमै भएको भए रोग चाँडै नै चिनिन्थ्यो। आफन्तले उसको बदलिएको व्यवहार चिन्ने थिए। भाषा र संस्कृतिको जानकार भएका चिकित्सकहरुले उसको रोग शायद् नेपालमा पहिले नै पत्ता लगाउने थिए।

माथिको घटना दुई तीन वर्षअगाडि अस्ट्रेलियाको मेलबर्नमा भएको थियो।

————————————-

दोस्रो घटना: गत हप्ता भने अमेरिकामा नेपाली मूलका भुटानीले सम्भवतः उनको मानसिक समस्याकै कारणले संसारभर तहल्का मच्चाइदिए। अमेरिकी राष्ट्रपति निवासमा बम हान्ने धम्कीले गुरु धिमाल नामका ती व्यक्तिको अहिलेसम्मको विवरण पढ्दा र गुरुले आकस्मिक व्यवस्थाका फोन अपरेटरसँगको संवाद सुन्दा भने उनी कडा मानसिक रोगबाट ग्रसित हुन सक्ने बलियो अनुमान गर्न सकिन्छ।

बसमा यात्रा गर्दागर्दै उनले गरेको संयमित फोन संवाद सुन्दा उनी आफूले भनेको कुरामा पूर्ण रुपमा विश्वस्त भएको बुझिन्छ। त्यस्तै उनले मेरो साथीसँग बम छ, यहाँ आफूसँग बम छैन, तर हामी राष्ट्रपति भवनतर्फ आउँदैछौँ, तपाईलाई खबर गर्न खोजेको, म राष्ट्रपतिसँग कुरा गर्न चाहन्छु, म अल कायदाको सदस्य हुँ आदि कुराहरुलाई एउटै ठाउँमा राखी हेर्दा उसको कुरा व्यवहारमा सामञ्जस्यताको कमी जस्तो पनि सजिलै देखिन्छ।

न्यायाधीशले उसलाई धरौटीमा छाड्नुअघि मानसिक जाँच गराउन भन्नु र आरोपित अपराधको प्रकृतिको तुलनामा धरौटी रकम निकै सानो हुनु र गुरुका साथीलाई बिना धरौटी तारेखमा छाड्नुले पनि न्यायाधीशले गुरुको ‘अपराध’लाई सिरियसली नलिएको बुझिन्छ। गुरुको व्यवहारलाई थुप्रै कोणबाट बहस गर्न सकिएला। तर एक मानसिक रोग विशेषज्ञको नजरबाट हेर्दा सबैभन्दा दुःखलाग्दो कुरा उनले उचित उपचार किन पाएनन् भन्ने हो। उनले जुन मानसिक अवस्थामा बम हान्ने घोषणा गरे त्यो तत्कालै उत्पन्न भएको मानसिक समस्या हुनसक्ने सम्भावना त छ, तर बढी संभावना क्रमिक रुपले रोग बढ्दै गएर भएको या औषधि खान नमानेर यो अवस्थामा पुगेको हुनसक्ने देखिन्छ ।

मैले आफूले राम्ररि नबुझेको केसमा गहिराइमा पुगेर चर्चा गर्न नसके पनि माथि पहिलो उदाहरणमा वर्णित मेलबर्नका विद्यार्थी जस्तै यी अमेरिकामा बस्ने नेपाली मूलका गुरुले पनि मानसिक रोगको कारणले अपराध गर्न पुगी आफू र आफ्नो परिवारलाई अप्ठ्यारोमा पारेको निश्कर्षमा भने पुग्न सकिन्छ।

——————————————

रोग नचिनिएर वा उचित उपचार नभएर नहुनुपर्ने कुरा भनेको बाहेक माथिका उदाहरणहरुका अरु दुई वटा अलि चिन्तित तुल्याउने पक्षहरु पनि छन्।

पहिलो, जब छापामा मानसिक समस्याग्रस्त व्यक्तिले अपराध गरेको चित्रण गरिन्छ, समाजका झण्डै २० प्रतिशतसम्मलाई हुने विभिन्न मानसिक समस्याबाट ग्रस्त व्यक्तिहरुलाई विशेषतः मिडिया र समाजका विभिन्न क्षेत्रका नेतृत्व वर्गका मानसिहरुले नदेखिने गरी डरलाग्दो भन्ने लाञ्छना लगाउन पुग्छन्। त्यसो त मानसिक समस्या भनेर सम्पूर्ण मानसिक रोग बाट पिडित लाई एउटै थान्को मा राख्न मिल्दैन । कसैलाई क्यान्सर लागेको छ भने हामी फलानोलाई शारीरिक रोग लागेको छ मात्र भन्दैनौँ। क्यान्सर नै भन्छौँ त्यो पनि शरीरको कुन भागको किटानसाथ। तर अझै पनि हामी सबै मानसिक रोगलाई उस्तै गरी सम्बोधन गर्छौँ। बास्तविकता के हो भने मानसिक रोग विभिन्न प्रकारका हुन्छन । स्किजोफ्रेनिया र बाइपोलर डिसर्डर कडा मानसिक रोग हुन् ।तर यी धरैजसो कहिल्यै कुनै अपराध गर्दैनन् । डिप्रेसन र आत्तिने रोगी हरुले रोग को कारण अपराध गर्ने त अत्यन्त न्यून हुन्छ ।

दोस्रो, अपराधपश्चात् अलि उट्पट्याङ या अनौठो व्यवहार गर्ने व्यक्तिलाई समाजले मानसिक रोगी हो कि भनेर शंका गर्दा यस्तो व्यक्तिले समाजको सहानुभूतिको फाइदा उठाउन सक्दछ
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home