भारतले नाकाबन्दी खोल्न सक्दैन्ः बीजेपी नेता जोली
काठमाडौँ, १० मङ्सिर । भारतीय जनता पार्टीका नेता विजय जोलीले भारतले नाकाबन्दी नगरेको भन्दै नेपालको आन्तरिक समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
“भारत सधैँ नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकास होस् भन्ने चाहन्छ, भारतले घोषित वा अघोषित नाकाबन्दी गरेको छैन, त्यसैले नेपालमा देखिएको पछिल्लो सङ्कटको समाधान भारतसँग छैन, नेपालसँगै छ”– नेता जोलीले भन्नुभयो ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भारतले नाकाबन्दी गर्नुभन्दा पनि तराईमा असुरक्षा भएका कारण आपूर्ति सहज हुन नसकेको जिकिर गर्नुभयो । उहाँले भारतले तराईमा देखिएको समस्यालाई राजनीतिक दलका नेताले वार्ता र संवादमार्फत सहमतिका आधारमा समाधान गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको देख्न चाहेको बताउनुभयो ।
एक फरक प्रसङ्गमा उहाँले भारतका नेताले कुनै पनि समयमा नेपालको विरूद्धमा अभिव्यक्ति नदिएको र यदि कसैले दिएको भए पनि त्यो उसको व्यक्तिगत अभिव्यक्ति हुने दाबी गर्नुभयो । उहाँले भारत र नेपालबीचको सम्बन्ध निकै पुरानो, ऐतिहासिक र सुमधुर भएको हुँदा त्यसलाई कायम राख्ने बताउनुभयो ।
पछिल्लोपटक नेपालमा देखिएका समस्याबारे भारतको केन्द्रीय सरकारसमक्ष राख्ने उहाँको भनाइ छ । उहाँले नेपालमा देखिएका समस्या जतिसक्दो चाँडो समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । रासस
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses