साइकल 'राष्ट्रियता' को लागि मात्रै होइन
मंसिर १०, २०७२- इन्धन नपाएको झोंकमा साइकल चढ्ने भनियो । कुदाइयो । अलि दिन कुदाएपछि बल्ल चेत खुल्यो साइकल चलाउन हाम्रामा न लेन बनेको छ, न साइकल कुदाउनेको सुरक्षाका लागि कुनै किसिमको प्रबन्ध नै । पार्किङमा साइकल राख्नेले धेरै सास्ती भोग्नु परेको छ । साइकल चोरको बिगबिगी छ । त्यसैले जहाँ जाउँ आफैंसँग साइकल घिसार, अफिस जाउँ आफ्नै तलासम्म साइकल बोक । चिया कफि खाउँ साइकलमै आँखा तर्स्याइरहौं । सपिङमा जाउँ कहिले साइकल रुखमा बाँध्नुपर्ने कि त पसलको सटरमा ।   त्यतिमात्रै कहाँ हो र, मोटरसाइकलसँगैको नियमित पार्किङमा साइकल राखेपनि मोटरसाइकलवालाले साइकललाई टपक्क टिप्छन् र रुख वा भित्तामा अड्याइदिन्छन् । कहिलेकाहिँ त भूइँमै लडाएर जान्छन् । यी यावत कुराले पनि देखाउँछ कि साइकल चढ्न पनि सजिलो छैन । तर यहाँ चर्चा गर्न खोजिएको विषय साइकल अधिकारका लागि नभई त्यो सँग जोडिएको राष्ट्रियताको हो । भूकम्पको परकम्प निरन्तर आइ राख्दा हामीलाई चर्किएका घर मात्र नभई सग्ला घरमा समेत बस्न डर भो, अहिले अलि दिन आउन कम हुने बित्तिकै मन्दिरका जीर्ण टेको दिएको ठाउँ मै बसेर हाम्रा तन्नेरी पुस्ता प्रेमालापमा रम्न थालिकसकेो छ ।
काठमाडौं र पाटन दरबार स्क्वायर क्षेत्रमा यस्ता दृश्य सहजै देखिन थालिसकियो । वैशाख जेष्ठमा भोलि नै छैन जसरी निस्सासिएको मनमा आज अनेक कुरा आउनु त स्वभाविक हो सँगसँगै आगामी दिनमा भूइँचालोबाट बच्न यसो गर्छु तेसो गर्छु भनेर उबेला सोचेका कुरा पनि पाखा लागिसके । साइकलमा चढेर यात्रा गर्नु वातावरणीय हिसावले वा स्वास्थ्यको दृष्टिले र केही हदसम्म इन्धनको किफायत गर्न उपयुक्त हो । यसले इन्धनमा परनिर्भरता कम गर्दछ । फेरि वास्तविकता यो पनि हो कि साइकल गुड्ने सडकमा दुई तिरै कहिले नसकिने ठूला गाडीका लाइन छन् । बीचको भाग बनेको छ- साँघुरो सडक । यस्ता सडक हुँदै साइकलमा गन्तव्य छिचोल्नु राष्ट्रियता, स्वास्थ्य लाभ, वातावरणमैत्रीका लागि अभियान भन्दा बढी जोखिम र साहसिक खेल हुन पुगेको छ । पैदलयात्री प्रथम भन्ने सर्वमान्य बुझाइलाई पुरै 'डिलिट' गरिसकेका हामी चालकहरुले साइकलेलाई भाउ दिने सवालै भएन । बेलाबखत सुनिने दुर्घटनाका दु:खद समाचारले हाम्रो यही मनस्थिति प्रमाणित गर्छ । राष्ट्रियताका विषय भनेको तरंग मात्र पनि त हैन नि जुन कुनै बेला ठूलो होस् अनि कहिले सानो । नाकाबन्दीका कारण हाम्रा भोगाइ कष्टकर भए पश्चात रिसले मुर्मुरिएर २ दिन त साइकल चलाइन्छ अनि तेस्रो दिनदेखि उही बसका धक्का बिचको दैनिकी सुरु हुन्छ वा तेलका लाइनमा दिन सकिन्छ अथवा कालोबजारको तेल पाउनमा परिश्रम सकिन्छ । हाम्रा साइकल चढ्नुपर्छ भन्ने अभियानले ढंगको साइकल लेन बनाउन सरकारलाई झक्झक्याउन सकेन जसको कारण साइकल यात्रा सधैँ 'साहसिक खेल' जस्तो मात्रै बन्न पुग्यो। हाम्रो देश भूपरिवेष्ठित । नाकाबन्दीको बेला मात्रै होइन प्रायजसो महिना इन्धन अभावको समस्याहरु आइनैरहन्छन्, चाहे त्यो कृत्रिम अभाव हुन् वा ट्याङ्करवालाको आन्दोलन वा आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पैसा तिर्न नसकेर नै किन नहोस् । पेट्रोलियम पदार्थमा हामी बारम्बार पीडित भएको परिप्रेक्ष्यमा साइकल यात्रालाई प्रबर्द्धन गर्न ती गुड्ने ट्रयाकहरु पनि बनाइनुपर्थ्यो । जबजब हामीलाई पेट्रोलियम पदार्थकफ अभाव हुन थाल्छ तबतब हामी साइकल लेन र साइकल सिटीको मन्त्र जपिरहन्छौं । पेट्रोलियम पदार्थ सहज हुनेवित्तिकै हामी साइकल होइन मोटरसाइकल र लक्जरियस गाडीका सपना बुन्न थाल्छौं । त्यसैले अहिलेको नाकाबन्दीलाई अवसरको रुपमा बदल्ने हो भने सबैले साइकल लेन र साइकल सिटीको कुरालाई पनि अगाडि बढाउन सरकारलाई दबाब दिनै पर्छ । अन्यथा हामीले पेट्रोल नपाउन्जेल 'राष्ट्रियता' को नाममा साइकल चढ्नुको कुनै तुक हुँदैन । साइकल लेन एक इन्च नबनाइ साइकलयात्रा गर भन्नु हिमाल आरोहण सबैका लागि खुल्ला छ भन्नु जस्तै न भयो । हिमाल आरोहण गर्ने त ज्यान हत्केलामा राखेर आफ्नो लक्ष्य पूरा गर्ने साहसी हुन् र आज साइकल दैनिकरुपमा चलाउने पनि यस्तै साइकलयात्रामा बढी लगाव भएका साहसी नै हुन् । यहाँ साइकल चलाउने भनेर घरमा साइकल राखेर हप्तामा एक पटक वा बिदामा रमाइलोका लागि यात्रा गर्ने व्यक्ति वा समूहलाई भन्न खाजिएको होइन । साँच्चिकै साइकलयात्रा बढोस् भन्ने चाहने हो भने सडकमा साइकललाई प्राथमिकता दिनैपर्छ । पार्किङका समस्या जटिल हुँदै गएको समयमा साइकलले कम ठाउँ ओगट्ने कुरा प्रचारित हुनुपर्छ । सबै सार्बजनिक निकायहरुले साइकल पार्किङ अनिवार्य निर्माण गर्न लगाएमा साइकलयात्राको दिगो विकासका लागि सहयोगी हुन सक्नेछ । इटालीको पिसा नजिकको एक सहरले उसका बासिन्दाहरुले जति साइकल यात्रा गर्छन् त्यसबापत पैसा पाउने व्यवस्था लागु गरे पश्चात एक व्यक्तिले वर्षमा ६ सय युरो साइकल चलाएरै पाउँछन् । हाम्रामा यस्ता क्रान्तिकारी छलाङ् नभए पनि साइकल लेनको क्रमश: निर्माण अनि बिस्तार गर्न पहल त गर्न सकिन्छ । अन्धो राष्ट्रियताले कहिँ नपुर्‍याउने बरु स्थिति अझ जटिल बनाउने वर्तमानका भोगाइहरुले सिकाएका छन् । यी अप्ठेराहरुका सामना गर्दा व्यवहारिक परिवर्तनमा जोड दिनुपर्छ नभए पीडा सहजतामा परिवर्तन हुने बित्तिकै यी कुराहरु ओझेल हुन्छन् अर्को अप्ठ्यारो नआउँदासम्म ।

kantipur.ekantipur
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses