भूकम्प गएकाे ७ महिना वित्याे, पीडितले पाएनन् १५ हजार
दोलखा । दोलखाका विभिन्न गाविसका भूकम्पपीडित स्थानीयवासीले सरकारले दिने भनिएको रु १५ हजार रकम अझै पाउन सकेका छैनन् ।
भूकम्पपीडित जनताका लागि सरकारले दिने भनेको रु १५ हजार रकम नपाएका स्थानीयवासीले न्यानो कपडाका रुपमा पाउने रु १० हजारको आस नभएको बताएका छन् ।
दोलखाको ताम्चेतदुधपोखरी गाविस, घ्याङसुकाठोकर लगायतका केही गाविसका जनताले हालसम्म पनि रु १५ हजार नपाएका हुन् ।
भूकम्प गएको आठ महिना बितिसक्दा पनि सरकारले दिने भनेको रकम नपाउँदा स्थानीयवासीमा निरासा पैदा भएको हो ।
भूकम्पपीडित स्थानीयवासीले रकम किन नपाएको भन्ने प्रश्नमा घ्याङसुकाठोकर गाविस–३ की स्थानीय महिला लक्ष्मी खड्काले पैसा किन नपाएको त्यो दिने निकाय राज्यलाई सोध्न आग्रह गर्छिन ।
हालसम्म पनि दोलखाका स्थानीयवासीले रकम नपाउँदा उनीहरुको दैनिकीमा समस्या आएको छ । केही गाविसमा भने आधा गाविसका स्थानीय परिवारले मात्रै रकम पाएका छन् ।
जिल्लाको ४८ गाविसमध्ये दुई गाविसमा अहिलेसम्म पनि रकम वितरण भएको छैन भने मेलुङका केही वडा, सुस्पाक्षमावति, बाबरे सुन्द्रावतीलगायतका ४६ गाविसमा आधाजसो स्थानीयवासीले रकम पाउन सकेका छैैनन् ।
गाविस सचिवले भने गाविसको खातामा अपुग रकम आएको हुँदा वितरण हुन नसकेको बताउँछन् । रकम वितरण हुन नसकेको गाविस घ्याङसुकाठोकरका सचिव केशरबहादुर विश्वकर्माले पीडित परिवार सङ्ख्याभन्दा रकम कम आएकाले रकम वितरण गर्न नसकिएको बताए ।
यता जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले अपुग रकम गृहमन्त्रालयलाई माग गरिरहेको र रकम आउने बित्तिकै सबैलाई वितरण गरिने बताए ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses