भण्टाबारी घटनाबारे भारतसँग कुरा गर्नुपर्छ : राजेन्द्र महतो
१० मंसिर, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाली मिडियामा समाचार आएकै भरमा भारतीय एसएसबीले नेपालमा पसेर गोली हानेको कुरा विश्वास गर्न नसकिने बताएका छन् । यस विषयमा सरकारले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने र भारतसँग कुरा गर्नुपर्ने उनले बताए ।
‘खसवादी मिडियाको केही विश्वास छैन,’ महतोले अनलाइनखबरसित भने, ‘साम्प्रदायिकता भड्काउन र भारतसित हाम्रो सम्वन्ध बिगार्न उनीहरुले जे पनि लेख्छन्, हामीले गरेको नाकाबन्दीलाई भारतले गरेको भनेर लेख्ने यिनै मिडिया होइनन् ?’
महतोले यो घटनाका विषयमा सरकारलाई भारतसित कुरा गर्न सुझाव दिए । मधेसी मोर्चाले यसबारे औपचारिक विज्ञप्तिसमेत किन ननिकालेको भन्ने प्रश्नमा महतोले भने, ‘मोर्चाले विज्ञप्ति किन निकाल्नुपर्‍यो ? मैले बोलेपछि भएन ?’
सुनसरीको भण्टाबारीमा भारतीय प्रहरीले चार नेपालीहरुमाथि गोली हानेर घाइते बनाएको थियो । उनीहरु चारैजना मधेसी मूलका नागरिक थिए ।
यस घटनालाई लिएर मधेसी मोर्चाले आधिकारिक प्रतिक्रिया दिएको छैन । काठमाडौंस्थित भारतीय दूतावासले भने बुधबार विज्ञप्ति जारी गरेर एसएसबीले नेपालीमाथि गोली नहानेको दाबी गरेको छ ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses