उपभोग्य वस्तुको मूल्य आकासियो
पोखरा: भारतबाट मालबाहक सामग्री नेपाल भित्रिन रोक लगाएपछि यस क्षेत्रमा उपभोग्य सामानको मूल्य आसिएको छ। पेट्रोल, डिजेल, खाना पकाउने ग्यासका लागि उपभोक्ता पहुँचवालालाई भनसुन गर्न थालेका छन्।

निर्यात ठप्प हुने क्रम लम्बिएर खाद्यान्न नपाइने चिन्ताले उपभोक्ताले अनावश्यक भण्डारण गर्ने प्रवृत्तिले अभाव झनै बढेको छ। निर्यात रोकिएपछि अभाव, मूल्य वृद्धि र उपभोक्ताले भोग्नु परेको सास्तीबारे पोखराबाट प्रेम नेपाली, लमजुङबाट दीपक अधिकारी, स्याङजाबाट भवानी अधिकारी, पर्वतबाट माया अधिकारी, म्याग्दीबाट गोपाल छन्त्याल, गोरखाबाट शिवप्रसाद उप्रेती र तनहुँबाट पवन पौडेलको रिपोर्ट:


'म सीडीयो बोलेको, घरमा श्रीमतीले ग्यास सकिएर खाना पकाउनै पाइन भनेकी छन्, जताबाट हुन्छ, एउटा सिलिन्डर मिलाइदिनुपर्‍यो हजुर,' उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालासँग आइतबार बिहान कास्की घर भएका एक प्रमुख जिल्ला अधिकारीले फोनमार्फत बिन्ती बिसाए।


लमजुङ बेसीसहरको हाइस्कुलचोकमा बस्दै आएकी जमुना गुरुङ एलपी ग्यासका लागि भौतारिँदै हिडेको ६ दिन बित्यो । म्याग्दी बहुमुखी क्याम्पसमा १२ मा अध्ययनरत अनील शर्माले तीन दिनदेखि चाउचाउको भरमा रात काटिरहेका छन्। बजारभरि डुल्दा पनि ग्यास नपाएपछि उनी चाउचाउको खाएरमा पेट भर्न बाध्य भएका हुन्।

स्याङजा पुतलीबजारकी कमला आचार्य दालको भाउ सुनेपछि छाँगोबाट खसेजस्तै भइन्। केही दिनअघि एक सय ७० रुपैयाँमा किनेको अडहरको दाल अहिले दुई सय ५ रुपैयाँ पुगेको र अरू खाद्यान्नको भाउ पनि बडेको सुन्दा निराशा भइन्।

पोखरा गैह्रापाटनमा डेरामा बस्दै आएकी ५० वर्षीया राधादेवी दाल, चाम, तेलको भाउ एकाएक आकासिएको सुनेपछि सहरमा बाँच्न नसक्ने निश्कर्षमा पुगेकी छन्। दुई हजार रुपैयाँ बोकेर गएकी उनी पहिलाभन्दा कम सामान लिएर निराश हुँदै कोठामा फर्किइन्। अब उनको परिवार गाउँ फर्कने सुरमा छ।

एक सातादेखि भारतबाट मालसामान ढुवानी नहुँदा पोखरा र छिमेकी जिल्लामा विभिन्न सामग्रीको अभाव र महगीले सर्वसाधरणले सास्ती खेपेका यी केही नमुना मात्र हुन्।

सामान नपाएर भौतारिँदै हिँड्नुपर्ने, बढी मूल्य तिर्नुपर्ने बाध्यताले उपभोक्ता कसरी गुजारा गर्ने भनेर पिरोलिएका छन्। पेट्रोल नभएर सवारी साधन चलाउन नपाउँदा, ग्यास नभएर खाना पकाउन नसकेपछि टाठावाठा उपभोक्ता सामानको जोहो गर्न शक्ति र पहुँचवालालाई गुहार्न थालेका छन्।

'एक सीडीयोसापले बिहानै ग्यास मिलाई दिनुपर्‍यो, खाना पकाउन नपाएर श्रीमतीले साह्रै दुःख पाइन् भनेर अनुरोध गर्नुभयो,' उपभोक्ता संघ कास्कीका अध्यक्ष कोइरालाले भने, ‘म ग्यास बिक्रेता होइन, कहाँबाट दिऊँ भनेर सम्झाएँ।'

बजारमा चर्को अभावले उपभोक्ताले भनसुन गर्न थालेपछि व्यवसायी ‘छैन हजुर, सकियो हजुर, खै नाकाबन्दी छ कहिले खुल्छ थाहा छैन हजुर' भन्ने जवाफ दिँदै हैरान परेका छन्। 'फोन उठायो कि एउटा सिलिन्डर भए पनि दिनुपर्‍यो भन्दै मरिहत्ते गर्छन्,' एलपी ग्यास बिक्रेता संघ कास्कीका अध्यक्ष नारायणप्रसाद पौडेलले भने, ‘आफ्नै घरमा ग्यास सकिएर कता खोज्न जाऊँ भनेर तनाव भइरहेको बेला समाजका ठूलावडा भनिनेहरूले जसरी पनि देऊ भनेर दबाब दिने गरेकाले फोन नै उठाउन छाडेको छु।'

उनले पोखरा र आसपासको क्षेत्रमा दैनिक चार हजार सिलिन्डर खपत हुने र १० दिनदेखि ग्यास नआएकोले अभाव भएको बताए। 'ग्याससहित २५ वटा मालबाहक ट्रक नेपाल छिर्न लाग्दा जोगवनीमा भारतीय सुरक्षाकर्मीले दिल्लीको आदेश भन्दै रोकिदिएछन्,' उनले भने, ‘धेरै दिनदेखि आयात रोकिएकोले बजारमा ग्यास अभाव भएको हो। टाठावाठाले पाँच सातवटा सिलिन्डर भरेर लगेकाले पनि झनै समस्या भएको छ।'

यसैगरी स्याङजा, पर्वत, म्याग्दी, गोरखा, लमजुङमा पनि पेट्रोल र ग्यासको हाहाकार हुँदा सर्वसाधरणले दुःख पाएका छन्। कुस्माका शक्ति ग्यास बिक्रेता देव शर्माले नाकाबन्दीको हल्लाले ग्यास धेरै स्टक राखेको र आपूर्ति बन्द भएकोले समस्या भएको बताए।

लमजुङ बेसीसहरको प्रभु सप्लायर्सका प्रोपाइटर प्रभु प्रधानले दिनमा झण्डै सय उपभोक्ता ग्यास खोज्न आउने गरेको बताए। बेसीसहरकै न्यु आयुस स्टोर्सका प्रोपाइटर शशी रेग्मीले प्रशासनले अनुगमन गरे केही व्यापारीले लुकाएको ग्यास फेला पर्न सक्ने बताए। 'सेल्स' कम हुने पसलमा पक्कै स्टक छ', उनले भने, ‘अनुगमन गर्ने हो भने १ सय देखि २ सयसम्म ग्यास निस्कन सक्छ।'

म्याग्दीमा ग्यास नपाएकोले होटल तथा रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेको म्याग्दी होटल व्यवसायी संघका अध्यक्ष गोपाल पौडेलले बताए । म्याग्दीको बेनी, गलेश्वर, तिप्ल्याङ, भुरुङ तातोपानी, दाना, सिंगा तातोपानी, बाबियाचौर, दरबाङलगायतका स्थानमा करिब २ सय होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।
म्याग्दी, पर्वत, गोरखा, तनहुँमा पेट्रोल नपाएकोले सवारी कम चलेका छन्।

गोरखामा एउटा मात्र पेट्रोलपम्प छ । त्यसमा तीन दिनदेखि डिजेल, पेट्रोल ठप्पै छ। गत बिहीबार बेचेपछि अहिलेसम्म बेच्न नसकिएको पम्प सञ्चालक शीतलकाजी मास्केले बताए।

यातायात व्यवसायी समिति गोरखाका अनुसार बस, मिनीबस, माइक्रोबस, ट्रक गरी गोरखामा दैनिक करिब दुई सय ६० वटा गाडी चल्छन्। अब एक–दुई दिनमै सबै गाडी बन्द हुने समितिका अध्यक्ष नारायण खत्री बताउँछन्।

तनहुँको दमौलीमा पेट्रोल तथा डिजेल वितरक तीनवटै पेट्रोल पम्प बन्द छन् । इन्धनज अभावमा एम्बुलेन्स नै बन्द हुने अवस्थामा छ। तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइको एम्बुलेन्सका चालक रमाकान्त ढुंगानाले एक पटक पोखरा जान पुग्ने डिजेल मात्र मौज्दात भएको बताए।

महगीले ढाड सेक्दै
पोखरामा गत शुक्रबार खाने तेल प्रतिकार्टुन ११ सय २० रुपैयाँ भएकोमा शनिबार १२ सय ६० र आइतबार १३ सय १० रुपैयाँ पुगेको उपभोक्ता मञ्चका अध्यक्ष कोइरालाले जानकारी दिए । रातारात व्यापारीले दाल, चामल, प्याजलगायतका खाद्यान्नमा प्रतिकिलो दश रुपैयाँदेखि ३० रुपैयाँसम्म बढाएका उनले बताए।

आयात रोकिएको बहाना बनाउँदै व्यापारीले उपभोक्ताको ढाड सेक्ने काम भएकोले राज्यले चाँडै सामानको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।स्याङ्जामा दैनिक उपभोग्य सामग्रीको अभाव र मूल्यवृद्वि भएको छ।

दाल, चामल, तेल, गेडागुडीमा ह्वातै मूल्य बढाएपछि आफूहरू मर्कामा परेको उपभोक्ताले गुनासो गरेका छन् । केही दिनअघि एक सय ७० रुपैयाँमा किनेको अडहरको दाल अहिले २ सय ५ देखि १० रुपैयाँ, चामलमा प्रतिक्विन्टल ४ सय रुपैयाँ र तेलमा प्रतिलिटर १० रुपैयाँ, चनामा प्रतिकिलो ३० रुपैयाँ मूल्य बढेको छ।

व्यवसायीले खरिद गर्दा नै मूल्य बडेर आएको भन्दै उपभोक्तासँग बढी मूल्य लिने गरेका छन् । तरकारी तथा फलफूल व्यावसायी ज्ञानेन्द्र बास्तोलाले प्याजको मूल्य १ सय ३० पुगेको र अझै बढ्ने जानकारी दिए । खाद्य किराना व्यवसायी संघ कास्कीका अध्यक्ष धनीराम बरालले आयात रोकिएको बेला भारतबाट मूल्य वृद्वि गरेर आउने र व्यापारीले अलिअलि सामान भए पनि लुकाइदिने भएकोले उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुने गरेको बताए ।

अनुगमन गर्ने आश्वासन
बजारमा देखिएको कृत्रिम अभाव, कालोबजारीबारे सरोकारवाला निकायले अनुगमन र कारबाही गर्ने जनाएका छन्। व्यवसायीलाई आफूसँग भएका सामग्री बेच्न र नलुकाउन आग्रह गरिएको र अटेर गर्नेलाई ऐनअनुसार कारबाही उनीहरूले चेतावनी दिएका छन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालोबजारी गर्नेलाई कारबाही गरिने बताए। 'भएका सामान बेच्न भनेका छौं, लुकाएको पाइए अनुगमन गरेर कारबाही गर्नेछौं,' उनले भने।

उद्योग वाणीज्य संघ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले आयात रोकिएको र स्थानीय व्यवसायीसँग स्टक सकिएकाले आपूर्तिमा समस्या आएको बताए। पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन तथा निरीक्षण अधिकृत सुवास लामिछानेले समस्या समाधानका लागि पहल गर्ने बताए।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses