भारतीय नेता यचुरी भन्छन् ,‘नेपाल हस्तक्षेप गर्नु ठूलो गल्ती’
आश्विन ११, २०७२- भारतीय कम्युनिष्ट पार्टी (माक्संवादी) का महासचिव एवं पार्टीको संसदीय समूहका प्रमुख सिताराम येचुरीले ‘झण्डै एक दशक लामो अन्र्तसम्वाद र सहमतिपछि दुई तिहाइभन्दा बढी मतबाट पारित गणतन्त्र नेपालको संविधानलाई खुलेर स्वागत गर्नुको साटो असन्तुष्टी जनाउँदै भारतले आफ्नो छवि धुमिल बनाउने काम गरेको’ बताएका छन् ।‘लामो समयसम्म अन्तरिम संविधान तथा सरकारको कालखण्डबाट गुज्रिरहेको नेपालमा संविधानसभाबाट संविधान आएको घटना आफैंमा स्वागतयोग्य र उदाहरणीय छ,’ पार्टीको पोलिटब्युरो मिटिङपछि येचुरीले कान्तिपुरसँग फोनमा भने, ‘हाम्रो पार्टीले नेपालको संविधानलाई खुलेर स्वागत गरेको छ, संवैधानिक उपलब्धीको यो घडीमा नेपाली जनतालाई बधाइ ज्ञापन गरेको छ ।’
उनले ‘अन्तरिम’ अवस्थाबाट अगाडी बढेर संविधान आउनुलाई आफैंमा ठूलो उपलब्धी भन्दै अब यही संविधानको आडमा असन्तुष्टी र नपुगेका बिषयलाई क्रमश सम्बोधन गर्दै जान सकिने राय सुनाए ।
‘नेपाल आफैंमा एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो,’मोदी सरकारले नेपालको संविधान उपलब्धीमा देखाएको असन्तुष्टीप्रति येचुरीले भने, ‘अत्याधिक बहुमतबाट आएको संविधानको प्रकृया अथवा उपलब्धीलाई लिएर हस्तक्षेपकारी बन्नुको कुनै अर्थ रहन्न । र, कुनै अरु देशको मामलामा यसरी हस्तक्षेप गर्न पनि मिल्दैन ।’
नेपालसँग भारतको आफ्नै बिशिष्ट परम्परागत र ऐतिहासिक सम्बन्ध रहेको भन्दै यी सम्बन्धका आधारहरु भुलेर नाकाबन्दी गर्ने तहसम्ममा उत्रनुलाई भारत सरकारको ‘ठूलो गल्ती’ भन्दै यसबारे तत्काल विदेश मन्त्रालयको ध्यानाकर्षण हुनु जरुरी रहेको येचुरीले बताए ।
उनका अनुसार बिशेषत कुनै अर्को सार्वभौम राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप गर्ने प्रयत्न आफैंमा गलत रहेको र राष्ट्रिय/अन्र्तराष्ट्रिय मान्यतामा समेत यसो गर्ने अधिकार कसैमाथि नरहेकोबारे बिस्तृत बहस पोलिटब्युरो बैठकमा भएको थियो ।
‘भारतीय जनता पार्टी र उसको भातृसंगठन आरएसस(राष्ट्रिय स्वयमसेवक दल)ले नेपाल हिन्दू राष्ट्र घोषित नभएकोमा असन्तुष्टी जनाएकोबारे हामी जानकार छौं,’ पार्टीको पोलिटब्युरोपछि नेपाल परिस्थितीबारे सोमबार जारी बिज्ञप्तीमा उल्लेख छ, ‘हामी भारतको केन्द्र सरकारलाई नेपाल–भारतबीच रहीआएको जनस्तरको सम्बन्धमा कुनै प्रकारको बाधा–ब्यवधान नपुऱ्याउन आग्रह गर्दछौं ।’
antipur.ekantipur.com


0 comments
Write Down Your Responses