जापानको सहयोगमा बन्यो सुविधासम्पन्न छ प्रसूति गृह
जाजरकोट । जापान सरकारको सहयोगमा जाजरकोट जिल्लाको दुर्गम गाउँमा सुविधा सम्पन्न छ वटा प्रसूति गृह भवन निर्माण गरिएको छ ।प्रसूति गृह भवन बनेपछि दुर्गमका महिलालाई सुरक्षित सुत्केरी हुन सहयोग पुग्ने विश्वास गरिएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ जाजरकोट शाखाको सक्रियतामा आड्रा जापान नेपालको सहयोगमा प्रजनन् स्वास्थ्य सुधार परियोजनामार्फत सुविधा सम्पन्न प्रसूति गृह भवन निर्माण भएका हुन् ।
आवश्यक उपकरणसहितको प्रसूति गृह निर्माण भएपछि दुर्गम क्षेत्रका महिलालाई सुरक्षित सुत्केरी हुन सहज हुने भएको हो । मातृ तथा नवजात शिशुको जीवन सुरक्षाका लागि प्रसूति केन्द्र निकै उपयोगी भएको छ ।
जिल्ला अस्पतालमा नभएको भवन र सुत्केरी उपकरण अब दुर्गम गाउँमा उपलब्ध भएको छ । दुर्गम गाउँमा सुरक्षित मातृत्व सेवा नहुदा बर्सेनि महिलाको ज्यान जाने गरेको थियो ।
जिल्लाको अर्छानी, ढीमे, झाप्रा, सुवानाउली, पुन्मा र साल्मा गाविसमा ६ वटा सुविधा सम्पन्न प्रसूति गृह भवन बनेका छन् ।
जापान सरकारको रु २ करोड ४० लाख आर्थिक सहयोगमा ६ स्थानमा प्रसूति गृह निर्माण गरिएको हो । आड्राले प्रत्येक केन्द्रका लागि एक एक जना अनमीलाई रु ६ लाख खर्चेर सुरक्षित सुत्केरी सेवा सम्बन्धी तालिम पनि दिएको छ ।
आड्राले डेलिभरी बेड, बेबी ब्यासीनेट बेड, तौल मेसिन, ५४ वटा स्ट्रेचर, बच्चा तताउने हिटर , प्रत्येक केन्द्रमा ३ सय वाटका सोलार ब्याट्री लगायत १२ दर्जन भन्दा बढी उपकरण उपलब्ध गराएको छ ।
सुरक्षित सुत्केरी सेवाको पहुच नभएका ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न प्रसूति गृह निर्माण गरेको आड्रा जापानकी परियोजना प्रमुख माई ओगावाले बताए ।


0 comments
Write Down Your Responses