चिनेकै साथीभाइले आगो लगाए : बबलु राजवंशी
मंसिर १०, २०७२- बबलु राजवंशीले आफ्नै चिनेजानका र सधैं हाँसीमजाक गर्ने साथीहरुले नै मधेस आन्दोलनको नाममा आफैंलाई पेट्रोल खन्याएर आगो नै लगाइदेलान् भन्ने कल्पना पनि गरेका थिएनन् । तर उनले सोचे विपरित मधेस आन्दोलनमा लागेका साथीहरुबाटै बिहीबार बिहान १० बजे आफैंले भारतको सीमा बजारबाट ल्याएको पेट्रोल खन्याएर आगो लगाइ दिए । उनको दायाँ हात र खुट्टाका औंलाहरु जलेर काम नलाग्ने भएका छन् । अनुहार जोगिएपनि पेट, हात खुट्टा, तिघ्रा ढाड जलेका छन् ।

मोरङको खोर्सानेस्थित दाजुको ग्यारेजका लागि उनले को१५प २४५० नम्बरको मोटरसाइकलमा ३० लिटर जति पेट्रोल लिएर फर्किरहेका थिए । वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत बबलुले भने, ‘नाकाबन्दी, बन्द हड्तालपछि पेट्रोलको हाहाकार भएकाले मोटरसाइकलमा पेट्रोलको ग्यालेन लिएर फर्किरहेको थिएँ । अचानक भाथिगछ–२ रामजानकी चोकमा रोकेर आगो लगाए ।’

शरीरको अधिकांश भाग जलेर मरणसन्न हुन पुगेका बबलुका अनुसार पेट्रोल लिएर फर्कँदा बाटोमा रोक्ने साथीहरुले ‘आज बन्दको बेला किन पेट्रोल ल्याएको’ भनेर सोधेका थिए । उनले जवाफमा ‘मेरो दाजु हिराकाजी राजवंशीको आफ्नै ग्यारेजका लागि पेट्रोल ल्याएको साथी हो । मलाइ त छाडि देउन यार’ भनेका थिए । त्यति भन्दा सबै साथीहरु चुपचाप लागे । उनी मोटरसाइकलसँगै उभिएका थिए त्यसबेला । तर एकजनाले मोटरसाइकलको दुइ तिर झुण्ड्याएर राखेको ग्यालेन निकालेर खुकुरीले हाने । उनले भने, ‘ग्यालेन फुटे पछि सबै तेल जताततै पोखियो । मेरो शरीर भरी पेट्रोल पर्‍यो । त्यस लगतै एकजनाले सलाई कोरेर आगो लगायो ।’

आगो दन्दनी बल्न थालेपछि बबलु पनि जल्न थाले । उनले होसमा भएसम्म ऐssssया अथ्था भन्दै लगाएको ज्याकेट र पेन्ट फुकाल्न भ्याए । तर पेट्रोलले उनको शरीर सबै भिजेकाले आगो निझाउन सम्भव थिएन । ग्यालेन फुटाएर तेल छर्कनेहरु अरुबेला चिनेजानेका भएपनि तिनीहरु बबलुको शरीरमा लागेको आगो निभाउन छाडेर भागेका थिए । उनले भने, ‘मेरो शरीर जलिरहेको थियो तर उनीहरु आगो निभाउने दयासम्म देखाएनन् । बरु नजिकै उभिएकी एकजना महिलाले मेरो शरीरमा पानी खन्याइदिएपछि मात्र आगो निभ्यो । तर शरीर निकै जलि सकेको थियो ।’ उनले ती साथीहरु चिनेको बताए पनि नाम भने सबैको भुलेको बताए ।

उनका दाजु हिराकाजी राजवंशीले भने, ‘मैले आफ्नो ग्यारेजका लागि भाइलाई पेट्रोल लिन पठाएको थिएँ । तर भाईमाथि नै यस्तो दुर्घटना आइपर्ला भनेर सोचेको थिइनँ । मेरो भाइमाथि यस्तो गर्छन् भन्ने सोचेको थिइना ।’ उनको ग्यारेजमा बबलु पनि काम गर्दै आएका छन् । घट्ना बिहानको भएपनि वीपि प्रतिष्ठानमा भने अपरान्ह साढे ३ बजे मात्र ल्याइएका थिए । उपचारका लागि स्थानीय अस्पतालहरुमा घुम्दा घुम्दै दिनभर लागेको थियो । तर ती अस्पतालहरुमा उपचार हुन नसक्ने भएपछि प्रतिष्ठानमा रिफर भएका थिए ।

बबलुको उपचारमा संलग्न चिकित्सक डा सोनाई चौधरीले प्रारम्भिक रिपोर्ट अनुसार शरीरको हात १० प्रतिशत, खुट्ट १० प्रतिशत र शरीरका अन्यभागमा २० प्रतिशत जलेको बताइन् । उनले बाँकी उपचार भइरहेको बताइन्       kantipur.ekantipur


,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses