एक लाखभन्दा बढीलाई 'प्रेमभोजन'
तसर्पु (धादिङ) : विद्यार्थी र तिनका अविभावकलाई नि:शुल्क भोजन गराउँदै आएको प्रेम सागर फाउन्डेसनले एक वर्ष यता एक लाख नौ हजार जनाभन्दा बढीलाई भोजन गराएको छ। तसर्पु गाविसको दामेचौरमा सञ्चालित जनभोजनमा दैनिक करिब पाँच सय जनाले नि:शुल्क भोजन गर्दै आएका छन्।

जनभोजनको वार्षिकोत्सव समारोहमा उक्त संस्थाका उपाध्यक्ष प्रेमराज ढुंगेलले दिएको जानकारी अनुसार, एक वर्षभर खाना खुवाएबापत ५५ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ। त्यसमध्ये १६ लाख ३१ हजार रुपैयाँ नेपालीको सहयोगबाट उठेको हो। बाँकी २८ लाख रुपैयाँ भने प्रेम रावत फाउन्डेसनबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए।


उपाध्यक्ष ढुंगेलका अनुसार, एक छाक खानाका लागि दैनिक २५ हजारजति खर्च हुने उक्त संस्थामा ९० जना नेपालीले वर्षको एक दिन खाना खुवाउन सहयोग गर्दै आएका छन्। यस्ता सहयोगी हातहरू ३ सय ६५ जना भएमा तसर्पुको जनभोजन आफैं सञ्चालित हुने र तराईका पिछडिएको समुदायलाई लक्षित गरी अर्को ठाउँमा पनि जनभोजन खोल्ने लक्ष्य रहेको उनले बताए।

नौबीसे बजारबाट १६ किलोमिटर दक्षिण त्रिभुवन राजपथमा पर्ने उक्त ठाउँमा वर्षको ३ सय ६५ दिन नै स्कुले विद्यार्थीका लागि बिहानको भोजन गराउँदै आएको छ। २०६५ चैत २८ गते प्रेम रावतले उद्घाटन गरेको उक्त संस्थामा ६ वर्षदेखि नियमित भोजन गराउँदै आएको छ।

शनिबार ६ वर्ष पूरा गरेको जनभोजनले अहिलेसम्म ६ लाख २८ हजारलाई भोजन गराइसकेको छ। दुईवटा माध्यमिक र तीनवटा प्राविमा पढ्ने विद्यार्थी नियमित भोजन गरी विद्यालय जान्छन्।

 १८ रोपनी क्षेत्रफलमा फैलिएको फाउन्डेसनमा दैनिक ७० किलो चामल र त्यत्तिकै परिमाणमा तरकारी खपत हुने गरेको छ। तामाङ बाहुल्यता रहेको उक्त गाविसमा केही चेपाङ र दलितको पनि बसोबास छ। विद्यालयमा खस-आर्य समुदायका विद्यार्थी एक प्रतिशतभन्दा पनि कम छन्।

वार्षिकोत्सव समारोहमा करिब एक हजार अविभावक, शिक्षक र विद्यार्थी सहभागी थिए। अधिकांशले त्यस क्षेत्रको शिक्षा, कृषि र स्वास्थ्यमा फाउन्डेसनले योगदान गरेको बताएका थिए।

संस्थाका महासचिव डोरनाथ न्यौपानेका अनुसार, खानाको गुणस्तरमा एक रुपताका लागि संस्थाले जिन्सी सहयोग लिने गरेको छैन। संस्थामा काठमाडौं, पोखरा, हेटौंडालगायतका स्वयंसेवी आएर सहयोग गर्ने गरेका छन्।

मानव जीवनमा शान्तिका लागि संसारका विभिन्न स्थानमा गएर प्रवचन दिने प्रेम रावतको सहयोगमा सञ्चालन हुँदै आएको यस्तै भोजनगृह नेपालबाहेक भारतको राँची र घानामा सञ्चालित छन्।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses