प्रचण्डले फेरि दिए मोदी सरकारलाई चेतावनी, भने– हामी की औषधि नदिने अपराधी ?
आइतबार, २२ कार्तिककाठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताका प्रतिनिधिले नेपालको पक्षमा संविधान बनाएबापत सजाय भोग्नुपर्ने छिमेकीको नीति बुझ्न नसकिएको बताएका छन् ।
निर्मल लामा स्मृति प्रतिष्ठानको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले नेपालको पक्षमा स्वतन्त्ररुपमा निर्णय गरेबापत तथा नेपालीको हित र चासोलाई सम्बोधन गरेबापत नाकाबन्दी भोग्नुपर्ने चलन कस्तो हो भन्ने प्रश्न गरे ।
अध्यक्ष दाहालको थप प्रश्न थियो– “नेपालीले संविधान बनाएबापत, नेपालको आफ्नो निर्णय आफैँ गरेबापत भोकै बस्नुपर्ने, पैदल हिँड्नुपर्ने, चुल्हो बाल्न रोक्नुपर्ने, औषधि उपचार नपाएर मर्नुपर्ने यो कस्तो छिमेकीको व्यवहार हो रु अमानवीय नाकाबन्दी लाग्नुका कारण के हो ? के लोकतन्त्रमा यस्तै हुन्छ ?”
नेपालको पक्षमा बोल्दा र नेपाली जनताको पक्षमा निर्णय गर्दा कुनै पनि मुलुकको विरोध गरेको बुझ्न नहुने उल्लेख गर्दै उनले आफूहरु भारतसँग समानताका आधारमा सम्बन्ध स्थापित होस् भन्नेमा रहेको तर सधैँ पेल्नखोजे सहन नसक्ने स्पष्ट पारे ।
तराई मधेसमा देखिएको आन्दोलन र असन्तुष्टिको सम्बोधन गर्न नेपालका राजनीतिक दल, सरकार र जनता आफैँसक्षम रहेको उल्लेख गर्दै उनले बाहिरका आएर यसो गर उसो गर भनेर अर्ती उपदेश दिनुको कुनै सन्दर्भ नरहेको बताए । उनले मधेसवादी दल, थारु तथा आदिवासी जनजाति समुदायले व्यक्त गरेको असन्तुष्टि हामी आफैँ समाधान गर्न तयार छौं भन्दनै त्यसको प्रयत्नसमेत भइरहेको जानकारी गराए ।
वार्ता र सम्बादबाटै नेपालको आन्तरिक समस्याको समाधान हुने उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमाथि परेको सङ्कट समाधान गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न केही समय सङ्कट परे पनि नेपालले पार पाउने विश्वास व्यक्त गरे ।
फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले भारतले संयुक्त राष्ट्र सङ्घको मानवअधिकार समितिको बैठकमा द्वन्द्वकालीन घटनाको प्रसङ्ग उठाएर नेपालको मौलिक शान्ति प्रक्रियामा अनावश्यक चासो व्यक्त गरेको बताए ।
नेकपा एमालेका नेता भरतमोहन अधिकारीले भारतले नेपालमा घोषितरुपमा नै नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनको खिल्ली उडाएको बताए ।
नेपाली राजनीतिक दलले संविधान बनाएबापत नाकाबन्दीमा पर्नुपर्ने, दुःख पीडा खेप्नुपर्ने अवस्था पूर्णत गलत भएको भन्दै उहाँले विश्व व्यापार सङ्गठनको आधारभूत पक्षलाई समेत भारतले उल्लङ्घन गरेको उनको भनाइ थियो ।
www.nepalsandesh
0 comments
Write Down Your Responses