अब पनि पेल्नखोजे भारतसँग युद्ध लड्छौंः प्रचण्ड
कात्तिक । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताका प्रतिनिधिले नेपालको पक्षमा संविधान बनाएबापत सजाय भोग्नुपर्ने छिमेकीको नीति बुझ्न नसकिएको बताउनुभएको छ ।निर्मल लामा स्मृति प्रतिष्ठानको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालको पक्षमा स्वतन्त्ररुपमा निर्णय गरेबापत तथा नेपालीको हित र चासोलाई सम्बोधन गरेबापत नाकाबन्दी भोग्नुपर्ने चलन कस्तो हो भन्ने प्रश्न गर्नुभयो ।
अध्यक्ष दाहालको थप प्रश्न थियो– “नेपालीले संविधान बनाएबापत, नेपालको आफ्नो निर्णय आफैँ गरेबापत भोकै बस्नुपर्ने, पैदल हिँड्नुपर्ने, चुल्हो बाल्न रोक्नुपर्ने, औषधि उपचार नपाएर मर्नुपर्ने यो कस्तो छिमेकीको व्यवहार हो ? अमानवीय नाकाबन्दी लाग्नुका कारण के हो ? के लोकतन्त्रमा यस्तै हुन्छ ?”
नेपालको पक्षमा बोल्दा र नेपाली जनताको पक्षमा निर्णय गर्दा कुनै पनि मुलुकको विरोध गरेको बुझ्न नहुने उल्लेख गर्दै उहाँले आफूहरु भारतसँग समानताका आधारमा सम्बन्ध स्थापित होस् भन्नेमा रहेको तर सधैँ पेल्नखोजे सहन नसक्ने स्पष्ट पार्नुभयो ।
नेपालको सार्वभौमसत्ता, अखण्डता र आत्मसम्मानको कुरा गर्दा कुनै पनि मुलुकको विरोध गरेको भनेर नबुझ्न आग्रह गर्दै अध्यक्ष दाहालले भन्नुभयो– “यो कसैको विरोध होइन, हामी सबै छिमेकीसँग समान सम्बन्ध समानताका आधारमा कायम गर्न चाहन्छाँै ।”
तराई मधेसमा देखिएको आन्दोलन र असन्तुष्टिको सम्बोधन गर्न नेपालका राजनीतिक दल, सरकार र जनता आफैँसक्षम रहेको उल्लेख गर्दै उहाँले बाहिरका आएर यसो गर उसो गर भनेर अर्ती उपदेश दिनुको कुनै सन्दर्भ नरहेको बताउनुभयो । उहाँले मधेसवादी दल, थारु तथा आदिवासी जनजाति समुदायले व्यक्त गरेको असन्तुष्टि हामी आफैँ समाधान गर्न तयार छौं, त्यसको प्रयत्नसमेत भइरहेको जानकारी गराउनुभयो ।
वार्ता र सम्बादबाटै नेपालको आन्तरिक समस्याको समाधान हुने उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमाथि परेको सङ्कट समाधान गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न केही समय सङ्कट परे पनि नेपालले पार पाउने विश्वास व्यक्त गर्नुभयो ।
फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले भारतले संयुक्त राष्ट्र सङ्घको मानवअधिकार समितिको बैठकमा द्वन्द्वकालीन घटनाको प्रसङ्ग उठाएर नेपालको मौलिक शान्ति प्रक्रियामा अनावश्यक चासो व्यक्त गरेको बताउनुभयो ।
नेकपा(एमाले)का नेता भरतमोहन अधिकारीले भारतले नेपालमा घोषितरुपमा नै नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनको खिल्ली उडाएको बताउनुभयो ।
नेपाली राजनीतिक दलले संविधान बनाएबापत नाकाबन्दीमा पर्नुपर्ने, दुःख पीडा खेप्नुपर्ने अवस्था पूर्णत गलत भएको भन्दै उहाँले विश्व व्यापार सङ्गठनको आधारभूत पक्षलाई समेत भारतले उल्लङ्घन गरेको उहाँको भनाइ थियो ।
सरकारले उत्तरको नाका खोल्न र त्यसलाई व्यवस्थित गर्न चुक्न नहुने उल्लेख गर्दै नेता अधिकारीले राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाका लागि कुनै पनि सम्झौता गर्न नहुने स्पष्ट पार्नुभयो ।
एकीकृत नेकपा(माओवादी)का नेता अमिक शेरचनले गरिखाने वर्गको पक्षमा नयाँ संविधानले केही अधिकार संस्थागत गरेको भए पनि पूर्ण नभएको उल्लेख गर्नुभयो ।
उहाँले भारतले नेपालमाथि नाकाबन्दी लगाएर मानवीय सङ्कट खडा गरेकाले देशभक्त नेपाली एक हुनुपर्ने बताउनुभयो । रासस
dainiknepal
0 comments
Write Down Your Responses