‘ग्यासको विकल्प पाकिस्तानसँग विजुली किनौं’
नेपाली थिंक ट्यांक भन्छन्–भारतविरुद्ध ‘काउन्टर डिप्लोमेसी’भक्तपुर : मुलुक भारतको नाकाबन्दीले आक्रान्त भइरहेका बेला नेपाली थिंक ट्यांकहरुले भारतविरुद्ध ‘काउन्टर डिप्लोमेसी’ अपनाउन सरकारलाई सुझाएका छन् ।
नेपाल प्राध्यापक समाजले आइतबार भक्तपुरमा गरेको ‘नेपालको संविधान र भारतीय नाकाबन्दी’ विषयक प्रवचनमा उनीहरुले चाइना कार्ड खेलेरै भए पनि भारतविरुद्ध ‘काउन्टर डिप्लोमेसी’ उपनाउनुपर्ने सुझाएका हुन् ।
उनीहरुले सरकारमा पुग्ने दलहरुको भारतपरस्त छविले गर्दा उनीहरुले कुनै पनि बेला भारतसामु घुँडा टेक्ला भन्ने चिन्तासमेत व्यक्त गरेका छन् ।
सरकारमा जाने दलहरुलाई आफ्नो भारतपरस्त छवि सुधार्ने यो सुनौलो मौकासमेत भएको उनीहरुको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली जनताबीच भारतीय उत्पादन बहिस्कार आन्दोलन छेडेर उसको नाकाबन्दीको उत्तर दिन ढिला भइसकेको बताए ।
उनले सबै दल र जनताले नाकाबन्दीविरुद्धको आन्दोलन काठमाडौंस्थित भारतीय दूतावास केन्द्रित गर्न आह्वानसमेत गरे ।
‘जनस्तरमै भारतीय उत्पादन बहिस्कार अभियान नचालेसम्म नाकाबन्दी खुल्नेछैन’, अध्यक्ष बिजुक्छेले भने, ‘यसको लागि उत्तरी नाकाबाट देशलाई आवश्यक सम्पूर्ण वस्तु ल्याउने सुनिश्चितता गर्नुपर्छ ।’
भारतीय नाकाबन्दी छिटो समाधान हुने सम्भावना नरहेको भन्दै उनले योभन्दा कठिन स्थिति आउने र त्यसलाई झेल्न नेपालीहरुले तयारी गर्नुपर्ने धारणा राखे ।
‘नेपालको बिजुली भारतलाई दिन बन्द गरौं
अध्यक्ष बिजुक्छेले नेपालमा उत्पादित बिजुली भारतलाई दिन तत्काल बन्द गर्नसमेत सरकारसँग माग गरेका छन् ।
‘जनताले पेट्रोलियम नपाएर खानासमेत खान पाइरहेका छैनन्’, उनले भने, ‘त्यसैले भारतलाई तत्काल बिजुली रोकेर नेपाली जनतालाई सस्तो दिनुपर्छ ।’
उनले जनतालाई दिन बिजुली नपुगे पाकिस्तानबाट किन्नसमेत सुझाएका छन् ।
‘पाकिस्तानले जनतालाई प्रतियुनिट २५ पैसामा बिजुली दिइरहेको छ’, उनले थपे, ‘त्यसैले सरकारले जनतालाई ग्यासको बिकल्प सस्तो बिजुली दिनुपर्छ । यसको लागि पाकिस्तानसँग सहकार्य गर्नुपर्छ ।’
अध्यक्ष बिजुक्छेले चीनबाट पेट्रोल ल्याएजस्तै बंगलादेशबाट ग्यास ल्याउन सरकारको ध्यानाकर्षण गरे ।
कार्यक्रममा नेपाल राजनीतिशास्त्री समाजका अध्यक्ष विजयबहादुर सिलवालले मधेस आन्दोलनको कारण सीमा नाका अवरुद्ध भएको नभई भारतले नाकाबन्दी नै गरेको दावी गरे ।
‘यो भारतले लगाएको नाकाबन्दी नै हो’, उनले भने, ‘यसमा कसैले भ्रम पाल्नुहुन्न ।’
उनले अहिलेसम्म सरकारमा पुगेका दल तथा त्यसका नेताहरु कुनै न कुनै रुपमा भारतपरस्त भएकाले समस्या भएको बताए ।
‘सरकारमा पुग्ने दल र त्यसका नेताहरु कुनै न कुनै रुपले भारतपरस्त भएकाले भारतले नाकाबन्दी लाद्न सकेको हो’, उनले भने, ‘तर दलहरुलाई भारतपरस्त बिल्ला हटाउने यो ठूलो अवसर पनि हो ।’
त्यस्तै समाजकी उपाध्यक्ष प्रा.डा. इन्दु आचार्यले नेपाललाई पकेट मार्केट बनाउने स्वार्थले भारतले नाकाबन्दी लादेको बताइन् ।
भारतले संविधानको बहानामा नेपाललाई घुँडा टेकाउन खोजेको भन्दै उनले भारतविरुद्ध ‘काउन्टर डिप्लोमेसी’ अपनाउन सरकार पछि हट्न नहुने सुझाव दिइन् ।
‘भारतीय नाकाबन्दीविरुद्ध नेपालले चाइना कार्ड खेलेरै भए पनि काउन्टर डिप्लोमेसी अपनाउनुपर्छ’, उनले भनिन्, ‘भारतीय नाकाबन्दीकै बीच नेपाल–चीनबीचका सम्पूर्ण नाका सञ्चालनमा ल्याउनुपर्छ ।’
उनले भारतीय नाकाबन्दी खुले पनि नखुले पनि नेपाललाई चाहिने आधा पेट्रोलियम पदार्थ चीनबाट ल्याउनुपर्ने बताइन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य वेदराज ज्ञवालीले भारत निर्भर अर्थतन्त्रले मुलुक गम्भीर समस्यामा परेकाले यसको विकल्प खोज्न ढिला गर्न नहुने बताए ।
मुलुक संघीयतामा जाँदा भारतीय नाकाबन्दी नजिरको रुपमा पटकपटक प्रयोग हुने खतरा बढेको उनको भनाइ थियो । उनले स्वदेशभित्रै भारतीय दलालविरुद्ध सबै आन्दोलित हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाई, सचिव प्रकाश श्रेष्ठ, सदस्यहरु कृष्णप्रसाद धन्छा र विश्वमोहन जोशी तथा प्रा.पृथुचरण वैद्यलेले नेपाल र नेपाली संकटमा पर्दा देशभरका थिंक ट्यांकहरु क्रियाशील भएर देश र जनतालाई दिशा निर्देश गर्नुपर्ने धारणा राखे ।
www.annapurnapost
0 comments
Write Down Your Responses