अमरेशकुमारलाई यसरी हुँदैछ कारवाही !
काठमाडौं, १० भदौ । नेपाली कांग्रेसले सभासद् अमरेशकुमार सिंहलाई कारवाहीको तयारी थालेको छ ।कांग्रेसको अनुशासन समितिले पार्टीको विधानअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । प्रक्रियाको सुरुआतमा कांग्रेसले सभासद् सिंहलाई स्पष्टिकरण सोधेको छ । यदि स्पष्टिकरण नदिए अथवा चित्तबुझ्दो जवाफ नआए पार्टीले विधान अनुसार अनुशासनको कारवाही गर्ने तयारी गरिरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारी बताउनुभयो ।
मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पुर्याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरणसहित कारवाही गर्न लागेको हो ।
कांग्रेसको विधान र नियमावली अनुसार अनुशासन समितिले कसूर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन वा पार्टी सदस्यताबाट निष्काशन समेत गर्ने व्यवस्था छ । विधानको दफा ३४ को उपदफा १ (ख) अनुसार अनुशासन समितिले अनुशासनको कारबाही गर्नुपूर्व आफ्नो सफाइ दिने मौका अभियोग लागेका व्यक्तिलाई दिनुपर्छ ।
सोही दफाको उपदफा २ अनुसार, निलम्बन गर्दा बढीमा ६ महिना र निष्काशन गर्दा बढीमा तीन वर्षका लागि गर्न सक्छ । त्यस्तै पछिल्लो दल त्याग एेन अन्तर्गत संसदीय दलको नेताले सभामुखलाई अनुरोध गरे उनको सांसद पद पनि निलम्बन हुनसक्छ ।
यसै प्रक्रिया अनुसार अमेरशले पार्टीलाई नटेरी स्पष्किरण नदिए पार्टी र संसदबाट निष्काशित गर्न कांग्रेसको अनुशासन समितिले तयारी थालेको स्रोतले जनायो । यसअघि बुधबार कांग्रेसले सभासद् सिंहलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफ अहिलेसम्म अमरेशकुमारले दिएका छैनन् ।
dainiknepal.com
0 comments
Write Down Your Responses