भूकम्पले जमिनमा धाँजैधाँजाः एउटा पाटो बारी तीनवटा, एउटा गरो खेत तीनमा परिणत
(नारायणप्रसाद न्यौपाने)११ जेठ, गोल्चे (सिन्धुपाल्चोक) ।
“अब अलि रोक्छ कि, अलि रोक्छ कि भनेर बस्याको, रोगले एकछिन पनि खाली हुँदैन, दिनको दिन भूकम्प र पहिरो चलेको चलै हुने, त्यसैले अब लौ सबैले यहाँ नबसौँ भन्यो, एक दिन हामी पनि मट्टी हुन्छ जाऔँ भन्यो, अनि काठमाडौँ आयौँ ।”
सिन्धुपाल्चोकको दुर्गम गाविस मार्मिङका ६५ वर्षीय धनबहादुर तामाङले त्रिभुवन विमानस्थालको हेलिप्याड नजिकै आफ्नो मौलिक लबजमा भन्नुभयो¬– “भूकम्पपछि आएको पहिरोले च्यापेर टोलका चार जना त्यही दिन मर्यो, गाउँ खत्तम भएको छ, गाउँघरमा बस्ने अवस्था छैन पहिरो चलेको चलै छ ।”
भूकम्पको झन्डै एक महिनासम्म गाउँमै बस्न सकिन्छ कि भनेर त्यहीँ रहेका धनबहादुरसहित दुर्ई बालबालिका, चार वृद्धा र एक नौ महिनाकी गर्भवतीलाई नेपाली सेनाले गोच्ले गाउँबाट उद्धार गरेर आइतबार काठमाडाँै ल्याएको हो । अहिले उनीहरुको त्यो पुख्र्यौली थलो मानवविहीन बन्न भएको छ । ज्यान जोगाउने क्रममा पहिरोबाट जोगिएको सम्पत्ति र चौपायासमेत उनीहरुले गाउँमै छोडिदिएका छन् ।
“खै केहो, केहो…. पहिरोबाट बचेखुचेको जौ खोज्न छोरो लेकमा गएको छ, सबैले काठमाडौँ जानुभन्यो, छोराले बाँच्यो भने दसैँतिर मात्र लिन आउँछु भनेको छ, पहिरोले गाउँ छोपेकै छोपै, नकुल गाउँमै छाडेर आएँ” – उहाँले भन्नुभयो ।
बारीमा पाटा थपिए, गरा पनि बढे
भूकम्पका कारण खेतमा धाँजा फाटेर एउटा गरो तीन वटा गरामा परिणत भएको छ भने एउटै बारीको पाटो पनि चिरा परेर माथिल्लो, बीचको र तल्लो पाटोमा छुट्टिएको छ । त्यस्ता खेतबारीमा गएर काम गर्न र बाली लगाउउन जोखिम बनेको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले पहिरोबाट १० गाविस जोखिममा रहेकाले ती गाविसका जनतालाई कहाँ पुनर्वास गराउने भन्नेबारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “तातोपानी क्षेत्रमा सुक्खा पहिरो अहोरात्र खसेको खसै देखिन्छ, त्यस क्षेत्रमा हेलिकप्टर अवतरण गर्ने ठाउँ छैन जमिन नजिक हेलिकप्टर पुग्दा र धुलो उडेर कुइरीमन्डल हुन्छ, यस्तै अवस्था रहेमा वर्षायाम सुरु भएपछि डाँडाका डाँडा खस्छन् जस्तो छ ।”
“वर्षायाममा पहिरो जाँदा भोटेकोसी थुनिएर तटीय क्षेत्रमा विनास पुर्याउने हो कि भन्ने जोखिम देखिएको, अर्कातर्फ भूगर्भशास्त्रीको रायअनुसार जोखिममा परेका बस्ती सार्नुपर्ने अवस्था छ, बस्ती कुन ठाउँमा स्थानान्तरण गर्दा उपयुक्त हुन्छ भनेर नजिकको ठाउँ हेर्ने र अनुगमन गर्ने काममा जुटिरहेका छाँ” – प्रमुख जिल्ला अधिकारी ज्ञवालीले भन्नुभयो ।
पहिरो खसेर भोटेकोसीको नियमित बहावलाई प्रभावित तुल्याउँदा तातोपानी क्षेत्र स–साना ताल बनेको छ, तर त्यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।
सिन्धुपाल्चोक जिल्लाका सबै बस्तीमा ओत लाग्नका लागि त्रिपाल र राहतस्वरुप धेरथोर जति भए पनि एक पटक खाद्यान्न पु¥याइसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भूकम्पसँगै उत्पन्न भएको पहिरोबाट मानव बस्तीमा पार्न सक्ने जोखिम र धरातलीय अवस्थाका बारेमा यथाशीघ्र जानकारी लिन र प्रतिवेदन पेस गर्न सिन्धुपाल्चोक जिल्लामा चार वटा भूगर्भशास्त्रीको टोली खटाएको छ ।
तातोपानी क्षेत्रको अनुगमन गरेर जिल्ला सदरमुकाम चौतारा फर्कनुभएका राष्ट्रिय भूगर्भ विभागका विज्ञ गणेश त्रिपाठीले तातोपानी, मार्मिङ, गोल्चे र फुल्पिङकट्टी गाउँ विकास समितिमा गरिएको स्थलगत अध्ययनले त्यहाँका धेरै बस्ती असुरक्षित भएका जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “भूकम्पपछिको त्यहाँको भौगर्भिक अवस्था अत्यन्तै अस्थिर देखियो, चट्टान झरिरहेका छन् , केही स्थानका मानिस आफैँ बस्ती छोडेर बाहिरिइसकेका छन् ।
अर्का विज्ञ सौरभ भण्डारीले फुल्पिङ्कट्टी क्षेत्रमा जमिन धेरै चिरा पर्नुका साथै कतिपय स्थानमा एक किलोमिटर लामो र धेरै गहिरो रुपमै चिरा परेको भेटिएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “धेरै नै बस्ती जोखिममा छन्, पहिरो गएको छ, जमिनमा धाँजा फाटेको छ, त्यहाँको थामी र चाबुबस्ती तत्कालै सुरक्षित ठाउँमा सार्नुपर्ने भएको छ ।
भूकम्पपछि खासगरी अरनिको राजमार्गका वारिपारिको क्षेत्रमा पहिरोले निकै जोखिम तुल्याएको, भूकम्पले त्यस क्षेत्रका जमिनलाई हल्लाएर कम्जोर तुल्याएकाले वर्षायाम सुरु हुनासाथ त्यसले थप त्रास बढाउने छ ।
दिनरातको पहिरोको पिरलोले गोल्चे वडा नं २ स्थित आठ धुरीका तामाङ परिवार केही दिनअघि नै आफ्नो थातथालो छाडेर अन्यत्र गएका त्यस क्षेत्रका स्थायी बासिन्दा नेपाली सेनाका एक जवानले बताए ।
भूगर्भशास्त्रीहरुले पहिरोबाट बढी जोखिम देखिएका गाविसमा पुगेर गरेको अध्ययन, विश्लेषण र निचोडका आधारमा सबै दृष्टिकोणबाट उपयुक्त ठहर भएको स्थानमा जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरिने भएकाले त्यस क्षेत्रका जनतालाई नआत्तिन, संयमित हुन र धैर्य गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राससwww.nepaliheadlines.com
0 comments
Write Down Your Responses