भारतले जबरजस्ती झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न तयार छौं : अध्यक्ष दाहाल
कार्तिक २१, २०७२- बुटवल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतले जबरजस्ती झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न तयार रहेको बताएका छन् ।शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपाल भारतको सम्बन्धलाई सहमति र समझदारीबाटै टुंग्याउन अहिलेसम्म कुनै कसर नराखेको बताउँदै यसो गर्दा पनि भारतले झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न र सामना गर्न तयार रहेको दोहोर्याए ।
‘हामी अझैपनि नेपालभारतबीचको समस्या सहमतिबाटै टुंग्याउन चाहान्छौं ।’ उनले भने, ‘तर भारतले झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न र सामना गर्न तयार छौं र रहनुपर्छ।’
नेपालीले संविधान बनाएर कुनै गल्ती नगरेको बताउँदै दाहालले यसमा भारतले सजाय दिन खोज्नु उसको गल्ती भएको बताए । संविधानले कसैलाई विभेद नगरेको र पहिचानका सवालमा मधेसी जनतालाई अझ बढी अधिकार दिएको बताउँदै अध्यक्ष दाहालले नेपालले संविधान बनाए वापत दु:ख पाउनु पर्छ र सजाय भोग्नुपर्छ भन्ने भारतको व्यवहार ठीक नभएको जीकिर गरे ।
‘आत्मनिर्णयको प्रयोग गर्नु हाम्रो कुनै गल्ती होइन । यसमा असल छिमेकी भारतको आपत्ति हुनुहुन्न । यसैले भारतले झुकाउन खोजेपनि हामी झुक्दैनौं ।’
भारतले असल छिमेकीको नाताले पनि नेपाल र नेपालीको कदममा सहयोग गर्नुपर्ने बताउँदै उनलेले यसो नगरी दु:ख मात्रै दिने हो भने नेपालीहरु एक ढिक्का भएर त्यसको प्रतिवादमा उत्रने र उत्रनुपर्ने बताए ।
अध्यक्ष दाहालले नेपाल भारत सम्बन्धलाई पुर्नभाषित गर्नुपर्ने अवस्था आएको भन्दै यसो गर्दा भावी पुस्ताकालागि पनि उचित हुने दाबी गरे । भारतले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको सशस्त्र द्वन्द्वदेखिका घटनाको छानविनको विषयको कुनै अर्थ नरहेको उनले तर्क गरे ।
नेपालको शान्तिप्रक्रिया स्वयं संयुक्त राष्ट्रसंघको पहलमा अघि बढेको र भारत पनि सहयोगीको भूमिकामा रहेकाले त्यो घटनालाई अहिले उठाएर अहिलेको घटनालाई मोड्न नहुने उनले टिप्पणी गरे ।
एमाओवादी अध्यक्ष दाहालले संविधान जारीको ऐतिहासिक सफलतापछि मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण देश फेरि ऐतिहासिक चुनौतिपूर्ण अवस्थामा गुज्रिएकोले यसलाई सबै नेपाली मिलेर समाधान खोज्नुपर्ने बताए ।
मधेसको समस्या छलफल र वार्ताबाटै समाधान गर्ने पक्षमा सरकार र सरकारमा रहेका दलहरुले तयारी गरेको अध्यक्ष दाहालको भनाइ छ । यसका लागि नेपाली कांग्रेसले पेश गरेको संविधान संशोधन प्रस्तावलाई मधेस केन्द्रित दलहरु समेत सहभागी भएर परिमार्जन गर्दै अगाडि बढ्नु पर्ने उनले बताए ।
सीमांकनको विवादलाई राजनीतिक संयन्त्र बनाउने र छलफलद्वारा निकास निकाल्ने तयारी भइरहेको उनले जनाए । वीरगञ्ज घटनापछि केही बिग्रिएको मधेस केन्द्रित दलसँगको वार्ताले पुन: सकरात्मक मोड लिएको बताउँदै उनले भने, 'अब मधेसको समस्या छिट्टै टुंगिने छ । यसका लागि मधेस केन्द्रित दलका नेताहरु पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ।'
पूर्व नेता बाबुराम भट्टराईका प्रसंगमा अध्यक्ष दाहालले आफूले उनलाई २५ वर्षदेखि झेल्दै आएको बताए । अब एमाओवादी मात्रै नभएर देशले नै बाबुरामलाई झेल्नुपरेको बताए । महाभूकम्पले देश तहसनहस भएको, मधेस आन्दोलित र भारतीय नाकाबन्दीको असहज अवस्थामा अलग्गिने बाबुरामको कदम कुनै अर्थमा ठीक नभएको उनले दाबी गरे ।
‘उहाँले पार्टी, जनता र राष्ट्रलाई मात्रै घात गर्नुभएन आफैंलाई पनि घात पुग्न आत्मघाती गोल गर्नुभएको छ,’ उनले भने । अध्यक्ष दाहाल बुटवलमा एमाओवादी कार्यकर्ता प्रशिक्षणका लागि आएका हुन् । उनीसँगै एमाओवादी नेता तथा उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पनि प्रशिक्षण दिँदै छन् ।kantipur.ekantipur.com
0 comments
Write Down Your Responses