कांग्रेस भारतीय दलाल भएको भए संविधान आउँदैन थियो : महामन्त्री सिंह
काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई भारतीय दलाल देख्नेहरूको बाढी आएको देखेर आफू अचम्ममा परेको बताउनुभएको छ ।सुनसरी जिल्लाको धरानमा नगर समितिले आज (शनिबार) आयोजना गरेको कायक्रममा बोल्दै महामन्त्री सिंहले यति बेला आफूलाई राष्ट्रवादी ठान्नेहरूको व्यापार ह्वात्तै बढेको बताउनुभयो । उहाँले राष्ट्र र जनताका लागि कांग्रेसले गरेको योगदानको कदर गर्नुको साटो केही दलहरूले अनावश्यक र झुठो आरोप लगाएर बद्नाम गरेको उल्लेख गर्नुभयो ।
‘यति बेला कांग्रेसलाई भारतीय दलाल देखाएर आफू राष्ट्रवादी बन्नेहरूको बाढी आएको छ’, उहाँले भन्नुभयो, ‘के कांग्रेस भारतीय दलाल रहेको भए मुलुकले संविधान पाउँथ्यो त ?’ उहाँले यस विषयमा इमान्दार भइ गम्भीरताका साथ सबैलाई बुझन आग्रह गर्नुभयो ।
कांग्रेस सरकारलाई असहयोग गर्नेहरूले मुलुकमा संविधान बनाउन नदिन विभिन्न खेल खेलेको आरोप लगाउनुभएका महामन्त्री सिंहले भन्नुभयो, ‘त्यति बेलाबाट नै असहयोग गरको कुरा संविधान जारी गर्ने अन्तिम समयमा भएका दबावका बीच कांग्रेसले लिएको अडानले संविधान आएको हो ।’
उहाँले कांग्रेसको अडान र नेतृत्वमा ल्याइएको संविधानको विषयलाई कमजोर बनाएर प्रचार बाजीको कुनै तुक नहुने उल्लेख गर्नुभयो । ‘यति बेला कांग्रेस हारेको छ’, सिंहले भन्नुभयो, ‘मुलुक र जनताको जित भएको छ ।’ उहाँले सबै नेपाली जनतालाई कति पनि नआत्तिन अपील पनि गर्नुभएको छ ।
तराई मधेसको समस्या समाधानका लागि आफ्नै नेतृत्वमा तत्काल कांग्रेसले पहल गर्ने भन्दै भारतीय नाकाबन्दीको अन्त्यका लागि कुटनीतिक पहलको आवश्यक्ता रहेको उल्लेख गर्नुभयो । ‘सरकारले नाकाबन्दी खोल्नका लागि भारतसँग कुटनीतिक पहल गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
महामन्त्री सिंहले कांगे्रसलाई बेवास्ता गरेर एमाले एक्लै हिँड्न चाहेको बताउनुभयो । ‘एमाले सहमति र सहकार्यअनुरुप अगाडि बढ्न चाहेको छैन’, उहाँले आरोप लगाउनुभयो, ‘आजको परिस्थिति आउनुमा एमालेको प्रमुख दोष छ ।’
dainiknepal.com
0 comments
Write Down Your Responses