आमाबुबाले छाडेपछि दुई बालकको बिजोग
खाल्टे (धादिङ): जन्मदिने आमाबुबा नै अलपत्र छाडेर बेपत्ता भएपछि धादिङका दुई बालकको जन्मदर्तासमेत हुन सकेको छैन।आमा विदेश उडेर कुनै खोजखबर नै नगरेपछि काठमाडौंमा अलपत्र परेका यी दुई बालकलाई दुःख गरेरै भए पनि जसोतसो पाल्दैछिन् उनीहरूकी ठूलीआमा (आमाकी दिदी) रुबिना श्रेष्ठले। अन्दाजी ९ र ७ वर्षका यी बालकको नाम गाउँलेले नै राखिदिएका छन्-सुमन र सुदीप।
आमाबाबु बेपत्ता भएपछि गाविस र जिविसले यिनीहरूको जन्मदर्तासमेत गर्न मानेनन्।१० वर्षअघि धादिङ खाल्टे गाविस-६ की बिना श्रेष्ठले राजमार्गको होटेलमा काम गर्ने क्रममा घरपरिवारको सल्लाहबिना त्यहीं काम गर्ने युवकसँग बिहे गरिन्। उनीहरूका दुई छोरा जन्मिए।
एकाएक काम गरेको ठाउँबाट बिनाका पति बेपत्ता भए। उनले छाडेर हिँडेपछि बिनाका दुःखका दिन सुरु भए। होटलमा काम गरेर बालबच्चा पाल्न नसकेपछि उनी विदेश जाने सोचमा पुगिन्। दुई नाबालक छोरा विदेश पठाउने एजेन्टको जिम्मामा काठमाडौंमा अलपत्र छोडेर उनी परिवारको सल्लाहबिनै विदेशतिर लागिन्।
बिना विदेश गएपछि सम्पर्कमा छैनन्। आमा बेपत्ता भएपछि यी दुई बालकलाई ठूलीआमा रुबिनाले गाउँमा ल्याएर पालनपोषण गर्न थालिन्। आर्थिक अवस्थाले बहिनीका दुई छोराहरूलाई पालनपोषण गर्न नसक्ने भएपछि रुबिना बालकल्याण समितिको सम्पर्कमा पुगिन्।
बालकल्याण समितिले बाबुआमा नभएका यी बालकलाई संरक्षण गृहमा पठाउने योजना बनायो तर जन्मदर्ता नहुँदा समभव हुन सकेन। ठूलीआमा रुबिनाले भनिन्, 'आफैं पाल्छु भनेर त ल्याएँ तर माया लागेरमात्र हुँदो रहेनछ। यिनीहरूलाई मैले पेटभरि पनि खान दिन सकिनँ भने झन् ठूलो पाप लाग्छ। बालसरंक्षण गृहमा पठाउन जिल्ला बालकल्याण समितिमा गएँ तर जन्मदर्ता नभएकाले काम रोकिएको छ।'
पढाइमा अब्बल यी दुई बालक अहिले गाउँनजिकैको पञ्चकन्या माध्यमिक विद्यालयमा दुई र तीन कक्षामा पढ्छन्। उचित रेखदेख र पालनपोषण नपाएका यी बालक नियमित विद्यालय जाँदैनन्।
विद्यालयका शिक्षक नयन केसीले भने, ‘दाजु पढाइमा एकदमै तेजिला छन्, कक्षा चढ्दै गएपछि समस्या आउने भएकाले जन्मदर्ताका लागि विद्यालयले पनि पहल गर्यो तर न गाविसबाट सहयोग पाइयो, न जिविसबाट। जन्मदर्ता नै नभएपछि बालकहरूको नागरिकता कसरी बन्ला?'
जिल्ला बालकल्याण समितिको पहलमा खाल्टे गाविसमा लिखित रूपमै बालकहरूको जन्मदर्ताका लागि निवेदन दिइए पनि गाविसले घटना दर्ता ऐन २०३३ को दफा ४ मा मावली पक्ष सूचक बन्न नपाउने व्यवस्था भएकाले जन्मदर्ता गराउन नसक्ने जानकारीसहितको पत्र जिल्ला बालकल्याण समितिलाई दियो। सोहीअनुरूपको ब्यहोरा राखेर जिविसमा बालकको जन्मदर्ताका लागि पहल गरे पनि जिविसले पनि घटना दर्ता ऐनकै प्रावधान देखाएर जन्मदर्ता गर्न नसक्ने जानकारी दियो।
जिल्ला बालकल्याण समितिका बालसंरक्षण अधिकृत हरि उप्रेतीले भने, 'गाविस र जिविसले आमाबाबु नै नभएपछि जन्मदर्ता गराउन नसकिने जानकारी दिएपछि हामीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पञ्जीकरण विभागमा साउन ७ गते सबै विवरण खुलाएर निवेदन दिएका छौँ।'
बाल संरक्षण ऐन २०४८ मा बालबालिका जोसँग बस्छ, उसैको नाम राखेर जन्मदर्ता गराउने प्रावधान छ तर पुरानो नजिर देखाएर जिविस धादिङ र खाल्टे गाविसले यी बालकको जन्म दर्ता गराइदिएनन्।
annapurnapost.com
0 comments
Write Down Your Responses