२४ घन्टा पुरिएका बालकको उपचारखर्च अभाव
खाँदबारी : पहिरोमा पुरिएको २४ घन्टापछि जीवितै उद्धार गरिएका आठ वर्षीय सुवास तामाङको उपचार खर्च अभाव भएको छ।

आमासँगै बसिरहेको अवस्थामा पहिरोले बगाएपछि सेनाको हेलिकोप्टरले उद्धार गरी खाँदबारी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य अवस्था नाजुक छ।

श्री दल गुल्मका गुल्मपति मेजर विश्वराज थापाको नेतृत्व र जिल्ला प्रहरी प्रमुख डीएसपी कमल थापाको नेतृत्वले बालकलाई उद्धार गरिएको थियो। उनको टाउको, अनुहारलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको छ।

बालकको उपचार हुन नसकेपछि खाँदबारी अस्पतालले रिफर गरेको छ। हाल उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
बालकलाई बचाउन भन्दै पाथीभरा गाविसले तत्काल सात हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

खाँदबारी अस्पतालले नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। पाथीभरा गाविसका सचिव बुद्धिबहादुर घिमिरेले उपचार गर्न खर्च जुटाउन सहयोगका लागि सबैलाई आग्रह गरे।

'पहिरोलाई नै जितेको छ सुवासले। उसको ज्यान बचाउन हामी सबैले सहयोग गरौं', उनले भने।

 बुबा शेरबहादुर सदरमुकाम खाँदबारी आएको र ३० वर्षीया आमा सुखमाया र तीन वर्षीय भाइ तेम्बाको साथमा घरमा रहेको अवस्थामा पहिरोले बगाएको जिल्ला प्रहरी प्रमुख डीएसपी कमल थापाले बताए।

पहिरोका कारण आमा सुकमाया र भाइ तेम्बाको मृत्यु भएको छ।

नाजुक परिवारका सुवासको उपचारका लागि रकम अभाव भएको भन्दै तत्काल सहयोग गर्न बुबा शेरबहादुरले आग्रह गरे। परिवारै गुमाएका शेरबहादुरले, सन्तान सकियो घाइते छोरा बचाउन सहयोग गरिदिनुहोस् भन्दै हात जोडे।

पहिरोमा परी नुमको याक्सिन्दाबाट ३२ वर्षीय रोशन,२८ वर्षीया उर्मिला र डेड वर्षकी निता तामाङ बेपत्ता भएका छन्।

पहिरोकै कारण मकालु गाविसका चार वडामा गरी २५ घर जोखिममा परेको र उनीहरूको उद्धार र राहत वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले बताए।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses