उद्धार गरिएकी युवती ५० हजारमा बेचेको खुलासा
३ असार, काठमाडौं ।राजधानीमा उनको गुजारा जेनतेन चल्दै थियो। छापाखानामा पसिना बेचेको कमाइले दैनिक खर्च टर्थ्यो। जीवनयात्रा यसरी नै घसि्रँदै थियो। वैशाख १२ गते अचानक भुइँचालो आयो। भुइँचालोले राजधानी र उनको गृहजिल्ला सिन्धुपाल्चोकका थुप्रै घर भत्काइदियो। भक्तपुरको डेरा भत्किएपछि पालमुनि रात काट्न विवश हरिमाया (नाम परिवर्तन) को त यही भूकम्पले झन्डै जीवन नै भत्काइदिएन।
बिहेको प्रलोभनमा भारत, मेघालय पुर्याएकी उनी ५० हजारमा बेचिइसकेकी थिइन्। धन्य ! आफू राखिएको होटल सञ्चालिकाको निगरानीले यौनकोठीको नरक पुग्नबाट उम्किइन् र प्रहरीले उद्धार गरी नेपाल फर्कायो।
उनलाई झैं भारत पुर्याइएका १५ युवती नरकबाट उद्धार गरिए पनि भारतमै एक संस्थाको संरक्षणमा छन्। अझै केही युवतीको अत्तोपत्तो छैन।
महानगरीय प्रहरी परिसर, भक्तपुरमा भेटिएकी हरिमायाले आफू बेचिएको र उम्किएर फर्कन सफल भएको दर्दनाक कथा बाँडिन्।
हरिमाया दाइसँगै भक्तपुरस्थित डेरामा बस्दै आएकी थिइन्।
कारखानामा काम गर्थिन्। भूकम्पले भक्तपुरको डेरा भत्किएसँगै टेन्टको बास सुरु भयो। प्रेसमै चिनजानका सुमन तामाङले उनीसँग बिहेको प्रस्ताव राखे। १८ वर्षीया हरिमाया (नाम परिर्वतन) यो प्रस्तावले दंग भइन्।
भावी जीवनका कैयन् रंगीन सपना उनको मनमा एकसाथ जन्मिए र हल्किए।
उनले धेरै सोचिनन्, सुमनसँग बिहे गर्न राजी भइन्। सुमनको भित्री अनुहार ख्यालै नगरेकी हरिमाया कसैलाई सुइँको नदिई जेठ २० गते उसैसँग भागिन्।
सुमनले हरिमायालाई कहिले कोटेश्वरमा राखे, कहिले चितवन पुर्या ए। बिहे गर्छु भनेर फकाए र बिहेपछिका सबै कर्म भ्याए। उनी ढुक्क थिइन्– बिहे नै गर्छु भनेपछि नाइँनास्ति गरिनन्।
भूकम्पले तहसनहस पारेको नेपालमा बस्न गाह्रो हुने भन्दै उनले हरिमायालाई भारत लगेर खुसीसाथ राख्ने प्रस्ताव राखे। जीवनै सुम्पेको सुमनमाथि शंका गर्नुपर्ने कुनै कारण थिएन। सुमनले जे–जे भने उनले नाइँनास्ति गरिनन्।
नयाँ जीवनका अनेक सपना बुन्दै उनी भारतको मेघालय पुगिन्।
मेघालयमा सुमनले नै दिदी भन्दै चिनाएकी एक युवतीले जब उनलाई ५० हजारमा किनेको सुनाउँदै दिल्ली जान कर गर्न थालिन्, बल्ल उनले भेउ पाइन्, विश्वास गरेर नेपालदेखि सँगै आएको व्यक्ति त चेलीबेटी बिक्री गर्ने दलाल पो रहेछ। आजको नागरिकमा खबर छ ।www.nepaliheadlines.com
0 comments
Write Down Your Responses