अस्पतालभित्र पसेर महिलामाथि हातपात
विराटनगर : सुत्केरी व्यथाले च्यापेर विराटनगरको कोसी अञ्चल अस्पतालमा भर्ना भएका महिला दुव्र्यवहारमा परेका छन्।

कोसी अञ्चल अस्पतालको प्रसूति वार्डमा छिरेका एक व्यक्तिले बिरामी महिला र उनीहरूका कुरुवामा बसेका १० जनामाथि एकसाथ दुव्र्यवहार गरेका हुन्।

अस्पतालको शय्यामा सुतेका महिलालाई सोमबार राति ९ बजेतिर अस्पताल प्रवेश गरेर चितवनको खैरेनी- ३ का ४० वर्षीय नवराज पाण्डेले एक्कासि दुव्र्यवहार गर्न थालेका थिए।

आफूलाई डाक्टर बताउँदै अस्पताल प्रवेश गरेका उनले बिरामी हेर्न राउन्डमा आएको भन्दै बत्ती निभाउन लगाएर दुव्र्यवहार गर्न थालेपछि बिरामी र कुरुवाको भागदौड मच्चिएको थियो।

'डाक्टर हुँ भन्दै अस्पताल प्रवेश गरेपछि सुरुमा हामीले विश्वास गर्‍यौं', एक पीडितले भनिन्, 'बिरामी जाँच्ने भन्दै बत्ती निभाउन लगाएर संवेदनशील अंग चलाउन थालेपछि आत्तिएर भाग्नुपर्ने अवस्था आयो।'

 अस्पतालका नायब सुब्बा नवराज लुइँटेलले प्रसूति वार्डमा छिरेर पाण्डेले शय्यामा भर्ना भएका महिलामाथि अभद्र व्यवहार गरेको बताए। लुइँटेलका अनुसार महिलामाथि अभद्र व्यवहार हुन थालेपछि केहीले प्रतिकार गरेको र केही त्यहाँबाट भागेर बाहिर आएर घटना सार्वजनिक गरेका थिए।

मंगलबार अस्पताल प्रशासनमा पीडित भएका १० जना बिरामी महिला र उनीहरूका कुरुवा सम्पर्कमा आएको उनले बताए। लुइँटेलले महिलामाथि अभद्र व्यवहार गर्ने पाण्डेलाई कारबाही प्रक्रियाअघि बढाउन अस्पतालले पनि पत्र लेखेर प्रहरीलाई दिइसकेको जानकारी दिए।

रातको समयमा अस्पतालमा आएका व्यक्ति बिरामीको कोही आफन्त होलान् भन्ने बुझेर वास्ता नगर्दा यो समस्या आएको अस्पताल स्रोतले बताएको छ। लुइँटेलले मंगलबारदेखि अस्पताल प्रवेश गर्ने र त्यहाँबाट बाहिरिनेमाथि निगरानी बढाउन थालिएको पनि बताए।

प्रहरीले पाण्डेलाई सोमबार राति नै अस्पतालबाट पक्राउ गरेको छ। घटनाको अनुसन्धानमा मोरङ प्रहरीका डीएसपी जगन्नाथ गौतम आफैं खटिएका छन्।

डीएसपी गौतमका अनुसार पाण्डे स्न्याक्स फुड एन्ड स्न्याक्स प्रालिको पूर्वाञ्चल व्यवस्थापक रहेको खुलेको छ। अभद्र व्यवहार गर्नेमध्ये तीनजना महिलाले पाण्डेविरुद्ध मंगलबार उजुरी दिएपछि प्रहरीले उनलाई मंगलबारनै सार्वजनिक अपराध ऐन अन्तगर्तको मुद्दा चलाउनका लागि म्याद थप गरेर अनुसन्धान थालेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालका अनुसार पीडितहरू उदयपुर र मोरङका छन्। 'पीडित धेरै छन् भन्ने जानकारी आएको छ।

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ', प्रवक्ता ढकालले भने, 'तर तीनजनाको मात्र उजुरी परेकाले त्यही उजुरीलाई आधार बनाएर मुद्दा चलाउन म्याद थप गरिएको हो।' ढकालले पाण्डेले आफूले गल्ती गरेको स्वीकार गरेको बताए।

'प्रहरीसँग पाण्डेले कसरी अस्पताल पुगेँ र त्यहाँ के के गरें भन्न नै थाहा छैन भनेर बयान दिएका छन्', डीएसपी ढकालले भने, 'पाण्डेले होसै गुम्ने गरी मदिरा सेवन गरेका थिए।' अत्यधिक मदिरा सेवन गरेका उनी प्रहरीले पक्राउ गर्दा पनि कुनै कुरा भन्न सक्ने अवस्थामा थिएनन्।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses