मूलढोकामै पाँचजनाको एकचिहान
जीवनभर दुःख गरेर बनाएको घर काल बन्यो काभ्रे : जीवनभर दुःख गरेर रगत पसिना बगाई कमाएको पैसाले बनाएको घर बनखुचौरका ४२ वर्षीय गजबहादुर मोक्तानका लागि अहिले अभिसाप बनेको छ ।
बैशा १२ गते विहान खाना खाएर परिवारका सदस्यसँग माथ्लो तल्लाको बरन्डामा दु:खसुख कुरा गरिरहेका उनको परिवार निमेषभरमै सदाका लागि छिन्नभिन्न भयो ।
‘म खाना खाएर दाजुभाइसँग माथ्लो तलामा गफ गर्दै गर्दा एकासी घर हल्लाउन थाल्यो’, उनले भने, ‘तलबाट नानीहरु कराएको आवाज आउनेबित्तिकै क्षणभरमै घर लड्यो । नानीहरु बचाउ बचाउ भन्दै चिच्याउँदै गर्दा म बेहोस भएछु ।’
उनी त्यो दिनको पीडा सम्झँदै भक्कानिन थाले । ‘मलाई दुई घण्टापछि गाउँलेको सहयोगमा परिएको ठाउँबाट उद्धार गरेर बाहिर ल्याएपछि होस आयो’, उनले भने, ‘होस आएपछि परिवारका अन्य सदस्य खोजेँ तर कोही भेटिन । छिमेकीले आएर भने दाइ सबैजनालाई घरले पुरेको छ ।’
होस सम्हालेर हेर्न जाँदा मूलढोकामै परिवारका पाँचजनालाई घरले पुरेको उनले भेट्टाए । मूलढोकामुनि उनका छोरा, भाइका तीन सन्तान र उनका बुवालाई समेत मूलढोकामै घरले एकैथुप्रो बनाइसकेको थियो ।
‘भगवानको लीला हो मैले के नै गर्न सक्थेँ र जीवनभर मेहनत गरेर खाईनखाई बनाएको घरले नै परिवारको एक चिहान बनायो’, उनले भने, ‘त्यो बेला म सँग पुर्पुरोमा हात राखेर रुनेबाहेक अरु उपाय थिएन ।’
भूकम्पले हल्लाईरहँदा छिमेकीले उनका परिवारका पाँचै शव बाहिर निकाले । ढुङ्गामाटोले पुरिएको अवस्थामा आमा र अन्य घाइतेलाई निकालियो । उनीहरुको चित्कारले गाउँ नै गुञ्जिएको थियो । तर पनि गाउँलेले हिम्मत नहारी पुरिएकाको खोजी जारी राखे ।
बैशाख १२ को भूकम्पमा ज्यान गुमाएका आफन्तको उनले भोलिपल्टमात्र दाहसंस्कार गर्न सके । गाउँलेको सहयोगमा उनले पाँचैजनालाई एउटै चितामा राखेर दाहासंस्कार गरी सदाका लागि विदा गरे ।
भूकम्पले आफ्नो उज्यालो भविष्य र सपना चकनाचुर पारेपछि उनको मन चिराचिरा भएको छ । २५ वर्ष अघिदेखि बिरामी रहेकी आमाको उपचार गरिहेका उनीमाथि अर्को विपत्ति आइलागेको छ ।
भूकम्पले उनकी पाँच महिने नातिनीको एउटा खुट्टा नचल्न भएको छ । ‘म उनीहरुको उपचारमा लागौं कि गाँसबासको जोहो गर्न लागौं’ उनले गहभरी आँसु बनाउँदै भने, ‘बस्ने बास छैन, खान अन्न सबै पुरियो । बाँच्ने आधार नै सक्कियो । गरिबलाई बिपत्तिमाथि बिपत्ति आइलाग्यो ।’
सूचना र सञ्चारको पहुँचबाट बञ्चित अधिकांश डाँडापारीबासीकालाई अर्कोतिर सडक नहुनु अभिसाप भएको छ । घाइतेहरुको उपचारका लागि समयमै अस्पताल लग्न सकेको भए गरे बाँच्ने बताउँदै त्यहाँका स्थानीयले आफूलाई राज्यले फर्केर पनि नहेरेको दुखेसो पोखेका छन् ।
annapurnapost.com
0 comments
Write Down Your Responses