रुपन्देहीमा मधेसी मोर्चाको बन्द अवज्ञा, पसलहरु धमाधम खुले
भैरहवा, ५ मंसिर । रुपन्देहीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्द अवज्ञा गरिएको छ ।
शुक्रबार बसेको मोर्चाको बैठकले रुपन्देही जिल्ला पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो । तर, पर्याप्त कार्यकर्ता नहुँदा मोर्चाको बन्दलाई रुपन्देहीका नागरिकले अवज्ञा गरी आफ्नो काम धन्दा जारी राखेका छन् ।
सरकारले मोर्चाको मागप्रति बेवास्ता गरेको र रुपन्देही प्रशासनले पनि दुई महिनादेखि निरन्तर निषेधाज्ञा लगाएर आन्दोलन तुहाउने प्रयास गरेको भन्दै मोर्चाले शुक्रवारदेखि बन्द आह्वान गरी आन्दोलन सशक्त रुपमा चर्काउने बताएको थियो ।
मोर्चाले पर्यटक तथा स्कुलका बस र सार्वजनिक एवं निजी सबै गाडीहरु रोक्ने र बजार तथा उद्योगसमेत ठप पार्ने चेतावनी दिएको थियो । तर, उक्त चेतावनीलाई सबैले आ–आफनो क्षेत्रबाट पुर्ण रुपमा अवज्ञा गरेको पाईएको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिनुभयो ।
मोर्चाका नेता एवम् सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्झारीले पनि मर्चवार र धकधई क्षेत्र पुर्णरुपमा बन्द रहेको र अन्य क्षेत्रमा बन्दको प्रभाव नपरेको रिपोर्टिङ आएको बताउनुभयो ।
प्रहरी उपरीक्षक गुरुङका अनुसार सरकारी सामुदायिक तथा निजी क्षेत्रबाट संचालित सबै शिक्षण संस्थाहरु पनि दिउसोको समयमा पुर्ण रुपमा खुलेका छन् । हाल रुपन्देहीमा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses