कहाँ अड्कियो प्रमुख तीन दल र मधेशी दलको वार्ता ? सुटुक्क बालुवाटार पुगे गच्छदार
काठमाडौँ, ११ असोज । प्रमुख राजनीतिक दलले गठन गरेको वार्ता टोली तथा आन्दोलनरत मधेशी दलहरुबीचको वार्ता सकरात्मक भएको नेताहरुले बताएका छन् ।
नयाँ संविधानप्रति असहमति जनाउँदै आन्दोलनमा रहेका तमलोपाका अध्यक्ष महन्थ ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार निवासमा पुगेर तीन दलको वार्ता टोलीले छलफल गरेको थियो । तीन दलीय वार्ता टोलीमा नेपाली काँग्रेसका नेता एवं वन तथा भूसंरक्षण मन्त्री महेश आचार्य, नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेल र एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।
मधेशी दलले वार्तामा बस्नुअघि आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, सेनालाई ब्यारेक फर्काउनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था हुनुपर्नेलगायत माग राखेपछि वार्ता अड्किएको छ ।
आन्दोलनकारीका तर्फबाट उठाइएका कतिपय विषयवस्तु संविधान संशोधन गरेर सम्बोधन गर्न सकिने विश्वास दिलाएको एमाओवादी नेता श्रेष्ठले जानकारी दिए । मधेसकेन्द्रित दलले खास गरी सङ्घीय प्रदेशको सीमा, नागरिकता, समानुपातिक तथा समावेशिताका विषयलाई केन्द्रित गरेर आन्दोलन गर्दै आएका छन् ।
तीन दलको आइतबार बिहान बसेको बैठकले नयाँ संविधानप्रति असहमति जनाउँदै आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेका थियो । तीन दलको वार्ता टोलीले मङ्गलबार पनि आन्दोलनरत दलसँग वार्ता गर्ने बताइएको छ ।
यसैबीच फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आइतबारै साँझ प्रधानमन्त्री सुशील कोइरालासहित काँग्रेसका शीर्ष नेतासँग गोप्य छलफल गरेका छन् । भेटवार्तालाई गोप्य राखिएकाले थप जानकारी बाहिर आएको छैन ।
dainiknepal.com
0 comments
Write Down Your Responses