'त्यत्रो एसएसपी मार्नेले हामीलाई बाँकी राख्लान्?''हामीलाई केही नसोध्नुस्'
शुक्रबार ११ भाद्र, २०७२टीकापुर (कैलाली)- 'त्यत्रो एसएसपी मार्नेले हामीलाई बाँकी राख्लान्?'
नेपाल मानवअधिकार आयोगको टोलीसँग गाउँलेहरू मुख खोल्न मानिरहेका थिएनन्।
भयमिश्रित स्वरमा सकेसम्म प्रश्न पन्छाउन खोज्दै थिए, 'तपाईंहरू गएपछि हाम्रो हालत के हुन्छ, त्यसैले हामीलाई केही नसोध्नुस्।'
सोमबारदेखि टीकापुर नगरपालिका–६, शंकरपुरका स्थानीय त्रासैत्रासमा दिन कटाइरहेछन्। आधाजति गाउँले घरमा ताला ठोकेर आफन्तकहाँ शरण लिन पुगेका छन्। गाउँमै रहेकाहरू पनि झुरुप्प एकै ठाउँ बस्छन्।
छुट्टै राज्य माग्दै आन्दोलन थालेका थरुहट पक्षधरले वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान लिएपछि उनीहरू तीव्र असुरक्षा महसुस गरिरहेछन्। पछिल्ला दिन सुरक्षाकर्मीको बाक्लो गस्तीले पनि स्थानीयको भय घटाउन सकेको छैन। बिहीबार घटना अनुसन्धानका लागि पुगेको आयोग टोलीसँग उनीहरू हम्मेसि खुलिनहाल्नुको कारण पनि यही हो। आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोली शंकरपुर पुगेको थियो।
टोली सदस्य र सञ्चारकर्मीले नाम उल्लेख नगर्ने प्रतिबद्धता जनाएपछि मात्र स्थानीयले मुख खोले। उनीहरूका अनुसार सयौंको संख्यामा रहेका व्यक्तिले सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए। तिनै व्यक्तिले एसएसपी न्यौपानेलाई घरभित्रबाट आँगनमा ल्याई हत्या गरे। त्यही घरको छेउमै सशस्त्र प्रहरी उपरीक्षक लक्ष्मण सिंहका अंगरक्षक रामबिहारी चौधरी र नेपाल प्रहरीका जवान जिउँदै जलाइए।
सिंहलाई जोगाइसकेपछि प्रदर्शनकारीको घेराउमा परेका न्यौपानेलाई बचाउन जाने क्रममा चौधरीमाथि आक्रमण भएको स्थानीयले जानकारी दिए। 'सिंहलाई सुरक्षित स्थानमा पुर्यााइसकेपछि उनी फर्किएर एसएसपी न्यौपाने लुकेर बसेको घरतर्फ आउँदै थिए, त्यहीँ समातिहाले,' प्रत्यक्षदर्शीले आयोग टोलीसँग भने, 'उनले म पनि थारू हुँ, मलाई नमार भनेका थिए।'
प्रहरी निरीक्षक बलराम बिष्ट र केशव बोहरालाई प्रदर्शनकारीले लखेटी–लखेटी मारेको स्थानीयको भनाइ छ। 'लगातार प्रहार सहन नसकेपछि दुवै जना ढले, हात जोडेर नमार्नुस् भन्दै थिए,' एक प्रत्यक्षदर्शीले भने, 'तर, आक्रमणकारीले सुनेनन्, फरुवाले हानेर मारिछाडे।'
उग्रतारा सशस्त्र प्रहरी गणका गणपति प्रहरी उपरीक्षक सिंहले आयोग टोलीलाई घरेलु हतियारसहित आएका व्यक्तिले चारैतिरबाट आक्रमण गरेपछि ज्यान जोगाउन भाग्नुपरेको बताए। 'चारैतिरबाट यसरी घेरिएका थियौं, भाग्नुको विकल्प थिएन। हतियार चलाउन सक्ने अवस्था पनि थिएन,' उनले भने, 'सबैलाई लखेटीलखेटी मारे।'
आक्रमणकारीले गुलेली, रड, भाला, बन्चरो, फरुवालगायत घरेलु हतियार प्रयोग गरेको सिंहको भनाइ छ। 'उनीहरू तालिमप्राप्त थिए, अश्रुग्यास उठाएर सुरक्षाकर्मीतिरै फर्काउन सक्ने व्यक्ति सामान्य होइनन्,' उनले भने।
स्थानीय भने आक्रमणकारीले बन्दुकसमेत बोकेको बताउँछन्। तर, उक्त बन्दुक आक्रमणकारीले पहिल्यै ल्याएका हुन् वा प्रहरीको खोसेका हुन्, उनीहरू यकिन गर्न सकिरहेका छैनन्।
घटनामा टीकापुरस्थित उग्रतारा गणमा कार्यरत नेत्र साउदका अढाई वर्षे छोरा बालक टेकबहादुरको पनि ज्यान गएको छ। प्रहरी टोलीमाथि आक्रमणको एक घन्टापछि आएका व्यक्तिले आँगनमा खेलिरहेका बालकलाई गोली हानेको स्थानीयले आयोग टोलीलाई जानकारी दिए। आक्रमणपछि भागेका सुरक्षाकर्मी उक्त घरमा बसेको देखेपछि आक्रमणकारीले गोली हानेको उनीहरूको भनाइ छ।
nagariknews
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses