दुवै मोर्चासँग वार्ता सकारात्मक
काठमाडौं: मधेसकेन्द्रित दलले वार्ताको वातावरण बनाउन तत्काल तराईबाट सेना फिर्ता र पक्राउ आन्दोलनकारी रिहा गर्न माग राखेका छन्।

तीन दलले गठन गरेको वार्ताटोलीसँग सोमबार साँझ भएको अनौपचारिक वार्तामा तराई मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेताले यो माग राखेका हुन्।


तीन दलले गठन गरेको तीन सदस्यीय वार्ताटोलीले सोमबार तमलोपाका अध्यक्ष महन्थ ठाकुरको सानोठिमी निवासमा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उनकै निवास सातदोबाटोमा भेटेर छलफल गरेको हो।


'मधेसकेन्द्रित दुवै मोर्चाका नेतासँग अनौपचारिक वार्ता भएको छ', वार्ताटोलीका सदस्य एमाओवादी नेता नारायणकाजी  श्रेष्ठले अन्नपूर्णसँग भने, ‘छलफल सकारात्मक भएको छ। उहाँहरूको केही विषय सरकारले पूरा गरे औपचारिक वार्तामा बस्ने भन्ने धारणा आएको छ।'

वार्तामा ठाकुर र गच्छदार दुवैले सेना फिर्ता, घाइतेको उपचार, मुद्दा फिर्ता र पक्राउ परेकालाई तत्काल रिहा गरे मात्रै अन्य विषयमा छलफल हुने सर्त राखेका थिए।'राजनीतिक रूपमा सहमति भएपछि उहाँहरूले उठाएका माग पूरा गर्न सकिन्छ भन्ने हामीले स्पष्ट पारेका छौं', श्रेष्ठले भने, ‘प्रारम्भिक चरणको वार्ता भएकाले कुनै निष्कर्षमा पुगेका छैनौं।'

वार्ताटोलीले नाकाबन्दीजस्ता गतिविधि नगर्नसमेत ठाकुर र गच्छदारलाई आग्रह गरेको थियो। मधेसकेन्द्रित दुई नेताले माग सुनुवाइ नै नहुने, तीन दलले पेलेर गएपछि बाध्य भएर नाकाबन्दीको आन्दोलन गर्नुपरेको धारणा राखेका थिए।

तीनदलीय वार्ताटोलीले राजनीतिक सहमति भएपछि सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत गरेको थियो।मधेसी दलले प्रदेशको सीमांकन, नागरिकता, निर्वाचन क्षेत्र र समानुपातिक समावेशिताका विषयमा संविधान संशोधन गर्न तयार रहे वार्तामा अघि बढ्न सकिने धारणा राखेका थिए। त्यस विषयमा फेरि वार्ता गरेर अघि बढ्न मधेसी दल तयार देखिएका छन्।

मंगलबार गच्छदार नेतृत्वको मोर्चा र ठाकुरसँग फेरि वार्तामा बस्ने निर्णयसमेत भएको छ।यसअघि सोमबार नै प्रमुख तीन दलले तराईमा आन्दोलनरत मधेसी र थारू सम्बद्ध दलसँग वार्ता गर्न तीन सदस्यीय वार्ताटोली गठन गरेका थिए।

वार्ताटोलीमा कांग्रेसका तर्फबाट बनमन्त्री महेश आचार्य, एमालेका तर्फबाट संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल र एमाओवादीका तर्फबाट नेता श्रेष्ठ छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको तीन दलका शीर्ष नेताको बैठकले वार्ताटोली गठन गरेको हो।

यसैबीच एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तराई मधेसमा आन्दोलनरत दललाई अविलम्ब वार्तामा आउन अपिल गरेका छन्। परिस्थितिलाई समाल्नेभन्दा उत्तेजित बनाउने, संविधानमा व्यवस्था भएका तराई मधेसका जनताका अधिकारको गलत व्याख्या गर्न नहुनेमा जोड दिँदै नेता नेपालले त्यस्तो अपिल गरेका हुन्।

'कहिलेकहीं आन्दोलन घोषणा गरिसकेपछि त्यो व्यक्तिगत तथा पार्टीगत प्रतिष्ठाको विषय बन्छ भन्ने बाध्यता पनि हामी बुझ्छौं तर राजनीतिमा त्यस्ता कुरालाई महत्व दिनु हुँदैन।

अतः तराई मधेसमा आन्दोलनरत दललाई अविलम्ब वार्ताको टेबुलमा आएर समाधान खोज्न, स्पष्ट नभएका कुरामा थप स्पष्ट हुन, सरकारसमेत परिवर्तन हुन लागिरहेको यस घडीमा राष्ट्र निर्माणको अभियानमा सहभागी हुन र मुलुकमा सामाजिक सद्भाव र एकता कायम राख्ने कुरामा योगदान गर्न म अपिल गर्दछु', एमाले प्रचार विभागद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले भने।

कुनै पनि मूल्यमा कुनै पनि मुलुकका विरुद्ध चलखेल गर्ने वा कार्ड प्रयोग गर्ने कुरा नेपालले कल्पना पनि गर्न नसक्ने नेता नेपालले बताए। 'नेपाल सानो छ। तर हामीले हाम्रो रणनीतिक महत्व राम्ररी बुझेका छौं। हामी हाम्रा छिमेकीलगायत मित्रराष्ट्रहरूको संवेदनशीलतालाई गहिराइमा पुगेर राम्रोसँग बुझ्छौं।

१ सय २५ भन्दा बढी जाति-जनजाति, त्यति नै भाषा, अनेकौं संस्कृति, हिमाल, पहाड र तराई-मधेसको भौगोलिक संयोजन, धार्मिक सहिष्णुताको अनुपम उदाहरणजस्ता हाम्रा संवेदनशीलतालाई पनि गम्भीरता साथ बुझिदिन हामी सबैसँग विनम्र आग्रह गर्दछौं', छिमेकी मुलुकप्रति लक्षित गर्दै नेपालले भने।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses