विदेशीसँग घरजम
चलचित्र 'कान्छी'को गीतमा भनिएको छ, 'परदेशीसँग बिर्सेर पनि पिरती लाउनु हुँदैन'। केही कलाकारले परदेसिएका नेपालीसँग पिरती लाए भने केहीले विदेशीसँगै पिरती गाँसेर घरजम गरेका छन्।निजी क्षेत्रबाट बनेको नेपालको पहिलो चलचित्र 'माइतीघर'का अभिनेता सीपी लोहनीबाटै परदेशीसँग पिरती लाएर घरजम गर्ने चलन सुरु भएको हो। यसपछि चलचित्र 'कुमारी' की नायिका चैत्यदेवीले पनि विदेशीसँग विवाह गरिन्।
पछिल्लो पुस्ताका कलाकारमा पनि विदेशीसँग विवाह गर्ने धेरै छन्। अभिनेत्री कृष्टि मैनाली, पूजा चन्द, सारंगा श्रेष्ठ, सज्जा मैनाली, रेजिना उप्रेती, जल शाहलगायतका अभिनेत्रीले परदेसिएका नेपालीसँग विवाह गरेर परदेशमै घरजम गरेका छन्।
अभिनेता तथा निर्देशक आकाश अधिकारीले विदेशी महिलासँग विवाह गरेर पनि नेपालमै स्थापित छन् । केही अभिनेत्री विदेशी नागरिकसँग विवाह गरेर त्यतै लागेका छन्।
सीपी लोहनी र माला सिन्हा
नेपाली चलचित्र इतिहासको प्रारम्भिक कालखण्डको चलचित्र हो 'माइतीघर'। भारतकी चर्चित अभिनेत्री माला सिन्हा चलचित्रकी नायिका थिइन्। चलचित्रका नायक थिए सीपी (चिदम्बरप्रसाद) लोहनी।
माइतीघरमा अभिनय गर्न आएकी मालाले सीपीसँग विवाह गरेर नेपाललाई 'ससुराल' बनाइन्। माइतीघर प्रदर्शन भएको दुई वर्षमा उनीहरूको विवाह भयो।
विवाहपछि पनि मालाले भारतीय चलचित्रमा आफ्नो अभिनय यात्रालाई निरन्तरता दिइरहिन् भने सीपीले आफ्नो व्यवसायलाई। उनीहरूकी छोरी प्रतिभा सिन्हाले पनि केही भारतीय चलचित्रमा अभिनय गरेकी छन्। पछिल्लो समय यो जोडी मुम्बईमै बसोबास गरिरहेको छ।
झरना वज्राचार्य र राहुल अग्रवाल
कुनै समयकी चर्चित अभिनेत्री तथा पूर्वमिस नेपाल झरना बज्राचार्यले पनि विदेशीसँग विवाह गरेकी छन्। उनले भारतीय मूलका मलेसियन व्यवसायी राहुल अग्रवालसँग गत वर्ष विवाह गरेकी हुन्। झरनाका पति राहुल मलेसियामा रेस्टुरेन्ट व्यवसायमा छन्।
सन् १९९७ मा १६ वर्षकै उमेरमा मिस नेपालको उपाधि जितेकी झरना मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने पहिलो नेपाली प्रतिस्पर्धी पनि हुन्। झरना र राहुलको भेट चलचित्र 'सेफ ल्यान्डिङ'को निर्माणका क्रममा भएको थियो।
राहुल यो चलचित्रका निर्माता हुन्। यसअघि बेलायती नागरिक करार हिलसँग उनको इन्गेजमेन्ट भएको थियो । पछि उनीहरूको ब्रेकअप भएपछि झरनाले राहुलसँग विवाह गरेकी हुन्।
विपना थापा र आशुतोष भारद्वाज
नेपाली रजतपटकी अर्की नायिका विपना थापा पनि विदेशीसँग विवाह गर्ने कलाकार हुन्। उनले २०६३ मा भारतीय नागरिक आशुतोष भारद्वाजसँग विवाह गरेपछि भारतकै मथुरामा बसोबास गर्दै आएकी छन्। विपनाले भारतको राजनीतिमा सक्रिय परिवारसँग नाता गाँसिन्।
उनका पति आशुतोष भारतीय राष्ट्रिय कांग्रेसका नेता हुन्। विपना र आशुतोषको भेट चलचित्र निर्माणकै क्रममा भएको हो । चलचित्र ‘वरमाला’का लगानीकर्तासमेत रहेका आशुतोषसँग नायिका विपना नजिकिइन् र प्रेमसम्बन्धपछि विवाह गरेकी हुन्।
हर्षिका श्रेष्ठ र प्रसुन झुनझुनवाला
म्युजिक भिडियो एवं विज्ञापन हुँदै चलचित्र क्षेत्रमा आएकी अभिनेत्री हर्षिका श्रेष्ठ अभिनयमार्फत आफ्नो पहिचान बनाउने तरखरमा थिइन्। केही चलचित्रमा अभिनय गरे पनि उनको नाममा सफल चलचित्र दरिन सकेको थिएन।
चलचित्र क्षेत्रमा संघर्षकै क्रममा उनले पनि गत जेठमा विदेशीसँगै विवाह गरेर नेपाललाई माइती बनाइन्। उनले कोलकाताका व्यवसायी प्रसुन झुनझुनवालासँग विवाह गरेकी हुन्।
भारतीय मारवाडी समुदायका झुनझुनवालासँग विवाह गरेकी हर्षिकाले विवाहपछि पनि नेपाली चलचित्रमा निरन्तरता दिने बताएकी छन् तर विवाहपछि उनका नयाँ प्रोजेक्ट सार्वजनिक भएका छैनन्।
आकाश अधिकारी र क्लाउडिया फाजिओ
विदेशी महिलालाई दुलहीका रूपमा भित्र्याउने अभिनेता तथा निर्देशक हुन्, आकाश अधिकारी। उनकी श्रीमती क्लाउडिया फाजिओ अधिकारी इटालियन हुन्।
१३ वर्षअघि चलचित्र 'दाग'को छायांकन गर्दा क्लाउडिया र आकाशको भेट भएको थियो। विश्व भाषा क्याम्पसमा अध्ययनरत क्लाउडियालाई चलचित्रको क्यामेरापछाडिको काममा रुचि थियो।
यसै क्रममा उनीहरू नजिकिए र केही समयपछि दुवै घरपरिवारको सल्लाहमा विवाहबन्धनमा बाँधिए। आकाश आफूहरूको विवाहलाई लभपछि एरेन्ज भन्न रुचाउँछन्।
नेपाली भाषा, रहनसहन र संस्कृतिमा भिजिसकेकी क्लाउडियाले अहिले आकाशलाई पारिवारिक र व्यावसायिक दुवै क्षेत्रमा साथ दिइरहेकी छन्।
www.annapurnapost.com
0 comments
Write Down Your Responses